धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उनले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ ।
पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उनले दुःख व्यक्त गने, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”
शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ ।
करिब २० हजार लिटर पिउने पानीका लागि र अन्य प्रयोजनका लागि २० लाख लिटर पानी सङ्कलन गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७० सालमा ट्याङ्की निर्माण गरेको थियो तर दुवै ट्याङ्की यतिबेला सुक्खा छन् । स्थानीय हरि विष्टले दुई महिनादेखि मूल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार भएको बताए ।
धनकुटाको चौबिसे, शहीदभूमि, साँगुरीगढी, छथर जोरपाटीलगायतका पालिकामा खानेपानीको निकै समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कअनुसार धनकुटामा ११ प्रतिशत नागरिक खानेपानीको पहुँचबाहिर छन् । जिल्लामा पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्म खानेपानीका मूल सुकेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख राजकुमार मण्डलले जलवायु परिवर्तनसँगै वन फँडानी, अव्यवस्थित खनिएको बाटो, जथाभावी एक्साभेटर प्रयोग, भूकम्प, पोखरी मासिनु, बढ्दो कङ्क्रिट संरचना निर्माण हुनुलगायतका कारण खानेपानीको मूल मासिएको बताए ।
धनकुटा नगरपालिकामा प्रतिसेकेन्ड २४ लिटर पानी आवश्यक रहेकोमा प्रतिसेकेन्ड १२ लिटर मात्र पानी उपलब्ध हुँदै आएको छ । नगरप्रमुख चिन्तन तामाङले खानेपानीको दिगो व्यवस्थापनका लागि थप आयोजना सञ्चालन गर्ने तयारीमा रहेको बताए । पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले ग्रामीण क्षेत्रमा हिउँदमा पानीको समस्या निकै रहने गरेको गुनासो गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS