चितवन । व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।
भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको हाे ।
रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।
रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत संगठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने दाबी गरे ।
कँडेल मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्।
कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो ।
कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेका थिए ।
FACEBOOK COMMENTS