काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले ‘तुलनात्मक लाभ’ भन्ने शब्दको दुरुपयोग भएको बताएका छन् ।
उनले कम्परेटिभ एड्भान्टेज भनेको तुलनात्मक लाभ नभएकाे र यो शब्दकै पुर्नविचार गर्नुपर्ने बताएका हुन्।
सोमबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘मेक इन नेपाल सम्मेलन’मा वाग्लेले विभिन्न लाइसेन्स लिन खुलेयाम भ्रष्टाचार भइरहेको बताए ।
प्रतिस्पर्धात्मक लाभ भएका वस्तु उत्पादनमा औद्योगिक संरक्षण गर्नुपर्छ भन्ने कुरा उठिरहेको उनकाे भनाइ छ। तर संरक्षण कस्तो र कसरी? भन्ने कुरामा पनि बहस जारी छ।
संरक्षणमा सरकारले दिने सहायता नरम खालको हुनुपर्ने उनले बताए। ‘सीप, क्षमता विस्तारजस्ता कुरामा सहुलियत दिन सकिन्छ। कुनै निश्चित उद्योग तथा क्षेत्रलाई लाभ पुग्ने नभइ सबैलाई लाभ हुनेगरि हुने जनशक्ति उत्पादनमा नीतिगत सहायता गर्न सकिन्छ,’ उनले भने, पूर्वाधार निर्माणको काम पनि अर्को सहायता हुनसक्छ।अन्य सहायता र संरक्षणलाई अन्तत हुन हुँदैन। कुनै पनि क्षेत्रलाई अनन्त लाभ लिँदा लाभभन्दा हानी हुन्छ।’
उत्पादन गुणस्तार बनाउनेभन्दा पनि राजनीतिक नेतृत्वसँग निकट हुनमा उद्योगी व्यवसायीहरूले ऊर्जा लगाउँदा केही हुँदैन। अहिले नेपालमा यही भइरहेको छ र यो खराब भएको उनले बताए।
‘नीतिगत सुविधाका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निकटता खोज्ने वातावरणको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘यो अन्त्य नहुँदासम्म समान प्रतिस्पर्धात्मक वातावरण हुँदैन। यसका लागि नीतिगत सुधार गर्नुपर्छ।’
कसैको ढोका चहार्न नपर्ने नीतिगत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।
बदमासीको बाटोतिर गइरहेको नेपाललाई सम्भावनाको देशका रूपमा ल्याउन निजी क्षेत्रले पनि पैरवी गर्नुपर्ने उनको भनाइ छ। सम्पत्ति सिर्जनाका लागि बन्नुपर्ने वातावरणका लागि सबैले आफ्नो ठाउँबाट अघि बढ्नुपर्ने उनले बताए।
‘सम्भावनाका झ्याल ढोका साँच्चिकै बन्द हुँदै गएका छन्। अबको पाँच वर्षपछि नै नेपाल जनसांख्यिक रूपमा एजिङतिर जान्छ। सन् २०५० मा त नेपाल एजेड भइसक्छ। यो ठूलो अलार्म हो,’ उनले भने।
FACEBOOK COMMENTS