काठमाडौं, पुस ११ – औद्योगिक वातावरण निर्माण गर्न सरकारले नेपाल उद्योग परिसंघसँग सहकार्य गर्ने भएको छ।
नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी–व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउँदै औद्योगिकीकरण तथा लगानी प्रवर्द्धनमा सघनरुपमा सहकार्य गर्ने भएका छन् ।
परिसंघमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीका तर्फबाट परिसंघले प्रस्तुत गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले एकलविन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदन्डसम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुनेगरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायीबीच विश्वासको वातावरण बनाउन आपसी छलफललाई निरन्तरता दिँदै जाने बताए। अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगलाई थप लगानीका लागि उत्प्रेरित गर्न आवश्यक वातावरण बनाउन आग्रह पनि गरे।
FACEBOOK COMMENTS