काठमाडौं, पुस १५- गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई पक्राउ गर्न आदेश दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै बक्यौता रकम नतिर्ने व्यापारीलाई पक्राउ गर्न आदेश दिएको हो।
कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि हिजो गृह मन्त्रालयलाई पत्र पठाएका थिए । व्यापारीहरु सम्पर्कमा नरहेको भन्ने जानकारीका आधारमा खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन् ।
लामो समयदेखि आफ्नो रकम नपाएको भन्दै उखु कृषकहरु राजधानी मै आएर आन्दोलन सुरु गरेका छन्। किसानहरु काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।
FACEBOOK COMMENTS