गलकोटमा किसानलाई असार नलाग्दै रोपाइँको चटारो
कर्पोरट खबर
1:49 pm, आइतबार, जेठ २१, २०८०
बलेवा– बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । “खोलाको पानी चिसो हुने ठाउँमा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भयो, केही फाँटमा भने जेठको अन्तिम सातादेखि रोपाइँ हुन्छ”, भण्डारीले भने , “गलकोटमा औसत रोपाइँ जेठमै हुन्छ ।”
कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको बताए । गलकोटमा भइरहेको रोपाइँ धेरै छिटो र बीउ कलिलो भएकाले उत्पादनमा क्षति हुने उनको धारणा छ ।
“यस वर्ष वर्षा पनि भइरहेकाले रोपाइँलाई सबैतिर सहज हुनेगरी बीउ तयार भएको छ”, उनले भने, “असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिसक्छ ।” यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाको पानीले यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो ।
नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ । कृषि ज्ञान केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङ लगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।
बागलुङको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क निकाल्ने गरिएको छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ ।
“यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, प्रमुख भट्टराईले भने, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ, जिल्लाभर धानखेती हुने जमिनको तथ्याङ्कमा पनि घटबढ भइरहेको पाइन्छ, यसलाई हामी अध्यावधिक गर्ने चरणमा छौँ ।”
FACEBOOK COMMENTS