काठमाडौं । पछिल्लो समय बजारमा भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । अधिकांशले यस जातको राँगालाई नकारात्मक दृष्टिले हेर्ने गरेका छन् भने मुर्रा जातका राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुने भएकाले पशु वैज्ञानिक उत्साहित भएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा.नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताउछन् । उनी भन्छन् , ‘नेपालमा हाल रहेका मुर्रा जातका राँगाको शुद्धताको मापन हुन सकेको छैन । भारतबाट शुद्धताको मापन भएर आउने राँगा मार्फत नेपालले पर्याप्त आर्थिक मुनाफा लिन सक्ने अवस्था रहन्छ ।’
पशु चिकित्सक डा. मणिप्रसाद सापकोटाले मुर्रा जातको राँगो कालो सुनका रूपमा परिभाषित भएकाले राँगा ल्याएपछि हुने फाइदाको बयान गर्न नसकिने बताए ।
मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो । यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ । भारत सरकारको शुद्ध स्रोतलाई आयात नगर्ने नीतिका कारणले नेपालमा शुद्ध मुर्रा जातको राँगा भित्र्याउन सकिएको थिएन ।
पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले नश्ल सुधारपछि उत्पादन हुने भैँसीले एक बेतमा बढीमा ८ सय लिटर दुध दिने गरेकोमा कृत्रिम गर्भाधारणबाट जन्मिएको भैँसीले २ हजार ८ सय लिटरसम्म दुध दिने सक्ने बताए ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार अहिले नेपालमा हाल दैनीक ६२ लाख दुध उत्पादन भइरहको छ । जसमा ३१ लाख लिटर दुध दैनीक बजारमा पुग्ने गर्दछ । उनले उही लागत मूल्यमा नश्ल सुधारपछि उत्पादनमा ३ गुणाले वृद्धि हुने भएकाले मुर्रा राँगा आएपछि भविष्यमा नेपाल दुधमा आत्मनिर्भर हुने आधार तयार हुने बताए ।
राष्ट्रिय भैँसी अध्ययन केन्द्र तरहराका पशु वैज्ञानिक डा. पङ्कज झाले राँगा ल्याउने सहमति हुनुले भैँसी पालनका क्षेत्रमा नयाँ ऊर्जा थपेको बताएका छन् । सो केन्द्रले कृषकको मागका आधारमा उच्च नश्लका राँगा उपलब्ध गराउँदै आएको छ । ‘नेपाली कृषकले धेरै मुनाफा लिन सक्ने क्षेत्र नै भैँसीपालन भएकाले मुर्रा जातको राँगा ल्याएर अरू जातका भैँसीमा कृत्रिम गर्भधारण गराएपछि जन्मने भैँसीबाट उत्पादन निश्चित बढ्छ,’ उनले भने ।
प्शु सेवा विभागका सुचना अधिकारी चन्द्र ढकाल भारतबाट राँगा ल्याएर अन्य जातका भैँसीमा कृत्रिम गर्भधारण गराएपछि जन्मने भैँसीबाट उत्पादन बढ्ने निश्चित भएता पनी यसमा लामो समय लाग्ने बताउछन् ।
ढकालको भन्छन् , “स्थानीयस्तरबाट आएको जानकारी अनुसार मुर्रा भैँसीको मूल्य २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले १ बेतमा १ हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ ।” जसले गर्दा आउने दिनमा भैँसीपालन पेसामा आवद्ध किसानहरुलाई फाइदा पुग्ने विश्वास गरिएको उनले बताए ।
उनी भन्छन् उन्नत “नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पु¥याइ भैँसीमा कृत्रिम गर्भाधारण गराई नश्ल सुधार गरिनेछ । यसले गर्दा भैँसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा किसानलाई फाइदा पुग्ने छ ।
त्यस्तै हाल नेपाल हाल सम्म दुधमा ८० प्रतिशत आत्मनिर्भर छन् भने २० प्रतिशत अपुग रहेको छ । यसमा पनि सुधार हुदै जाने उनको भनाई छ । तर यो पक्रियामा सफल हुन् लामो समय लाग्ने भएकाले भविष्यमा नेपालमा दुधको उत्पादन र अभाव कति होला भन्नेबारे हाल अनुमान लगाउन नसकिने उनको बुझाई छ । उसबारे थप अध्ययन गर्नुपर्ने उनले बताए ।
त्यस्तै नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको नेपाल आइपुग्न भने दुई महिना लाग्ने ढकालको भनाइ छ ।
प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र नेपाल ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा) नेपालगञ्ज र लहानमा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ ।
सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् ।
विसं. २०३० मा सुनसरीको तरहरामा तत्कालीन राजपरिवारले स्थापना गरेको बिराट फार्ममा मुर्रा जातका भैँसी ल्याएर पालिएको थियो । २०६९ सालबाट पशुको कृत्रिम गर्भाधारनसम्बन्धी राष्ट्रिय अभियान थालिएको थियो ।
नेपाल सरकारले पोखरा, लहान र नेपालगन्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी नेपालभर वीर्य वितरण गरिँदै आएको छ । पोखरामा रहेको कार्यालयमा हाल १२ वटा राँगाबाट वीर्य सङ्कलन गर्ने गरिएको छ । सो कार्यालयले गत वर्ष एक लाख ४२ हजार २४० डोज वीर्य सङ्कलन गरेर वितरण गरेको थियो । यो आर्थिक वर्षको वैशाख मसान्त सम्ममा एक लाख ३७ हजार ३९० डोज वीर्य सङ्कलन गरेर वितरण गरिसकिएको छ । हाल नेपालमा भैँसीको सङ्ख्या ५२ लाख रहेको विभागको तथ्याङ्क छ ।
FACEBOOK COMMENTS