काठमाडौं, पुस १८ – दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डको २५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले विभागलाई सो स्वीकृति दिएको हो । योसँगै यस आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्न र सडक विस्तारबाट प्रभावित हुने ३५ ओटा घर भत्काउने बाटो खुलेको छ ।
यस खण्डको विस्तारका लागि गतवर्षको फागुनमा सडक विभाग र चीन सरकारबीच समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर भएको थियो । त्यसको झन्डै १० महीनापछि यस आयोजनाको जग्गा अधिग्रहणका लागि सरकारले स्वीकृति दिएको छ ।
चिनियाँ सरकारको अनुदानमा निर्माण हुने यस खण्डको सडकको चौडाइ ३१/३१ मीटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अब शुरू गरिने विभागले बताएको छ ।
यसअघि पहिलो चरणको चक्रपथ विस्तार पनि चिनियाँ सरकारको अनुदानमा सम्पन्न भएको थियो । पहिलो चरणअन्तर्गत कलंकी–कोटेश्वर सडक खण्ड निर्माण भई सञ्चालनमा आइसकेको छ ।
दोस्रो चरणको विस्तारमा मुआब्जा र सडक विस्तारमा झन्डै रू। १० अर्ब लगानी हुने प्रक्षेपण विभागको छ । मुआब्जामै रू। २ अर्ब बढी खर्च हुने विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
जग्गा अधिग्रहणका लागि ३५ दिने सूचना सार्वजनिक गरी आगामी फागुनसम्ममा यो काम सम्पन्न गर्ने लक्ष्य विभागले लिएको छ । ‘सो जग्गा र घरको मुआब्जाका लागि रू। २ अर्बभन्दा बढी बजेट आवश्यक हुन्छ,’ थापाले बताए, ‘मुआब्जामा लाग्ने लागत नेपाल सरकार र सडक विस्तार÷निर्माणमा भने चीनको अनुदान हुनेछ ।’ फागुनसम्ममा उक्त खण्डमा पर्ने रूख, बिजुलीका पोललगायत साइट क्लियर गर्ने काम सम्पन्न भइसक्ने विभागले बताएको छ । यस परियोजनाका प्रमुख समन्वयकर्तासमेत रहेका थापाले हालसम्म उक्त परियोजनामा कुनै अवरोध नआएको बताए ।
उनले जग्गा अधिग्रहण र उक्त खण्डको साइट क्लियर गरेपछि चिनियाँ पक्षलाई हस्तान्तरण गर्ने र त्यसपछि उसले सडक विस्तारको काम अघि बढाउने जानकारी दिए । हाल उक्त परियोजनमा काट्नुपर्ने कुल २१ सय रूखमध्ये १५ सय रूख काटिएको र बाँकी पनि प्रक्रियामा रहेका छन् ।
पहिलो चरणको कलंकी–कोटेश्वर खण्डकै शैलीमा दोस्रो चरणको चक्रपथ विस्तार हुने तथा सडक सुरक्षाको विषयमा थप सुधार गरिने विभागले बताएको छ । कलंकी–कोटेश्वर सडक विस्तार गर्दा गलत डिजाइनअनुसार बनेको भन्दै चर्को विरोध भएको थियो । कोटेश्वर–कलंकी सडक विस्तारमा देखिएको कमजोरीलाई सुधार गरी यो सडक विस्तार गर्ने तयारी अहिले सरकारले गरेको छ ।आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS