काठमाडौं,पुस १८ – नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सीमा बढाएको छ । अब ग्राहकले एटीएमबाट प्रतिदिन अधिकतम १ लाख र प्रतिकारोबार २५ हजार रुपैयाँ झिक्न पाउने भएका छन् । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
गत भदौमा एटीएम ह्याक गरी चोरी भएपछि नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने सीमा घटाएर प्रतिदिन ६० हजार र प्रतिकारोबार २० हजार रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार एटीएमबाट प्रतिकारोबार गर्दा भिसा इन्टरनेशनलले १२ रुपैयाँ शुल्क लिने गर्छ । ‘कारोबारको सीमा कम गर्दा शुल्क बढी लाग्ने भएकाले यस्तो शुल्क कम होस् र सर्वसाधारणलाई आवश्यक अधिकतम रकम झिक्न सहज होस् भनेर एटीएममार्फत डेबिट कार्डबाट झिक्ने रकमको सीमा बढाएको हो,’ उनले भने, ‘दशैंअघि एटीएम ह्याक भएपछि धेरै रकम झिक्दा आशंका हुने भएकाले छोटो अवधिका लागि सीमा घटाएका थियौं ।’
त्यस्तै, अब केन्द्रीय बैंकले मोबाइल वालेटबाट हुने कारोबारमा पनि अधिकतम सीमा बढाएको छ । अब बैंक खाताबाट वालेटमा रकमान्तर हुने रकम प्रतिकरोबार ५ हजारबाट २५ हजार पुर्याइएको छ । त्यस्तै, बैंक खाताबाट एकपटकमा २५ हजार रुपैयासम्म मोबाइलमा ट्रान्सफर गर्न सकिनेछ भने दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।
त्यस्तै एक वालेटबाट अर्को वालेटमा तथा एक वालेटबाट अर्को बैंक खातामा प्रतिदिन २५ हजारसम्म र मासिक ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । मोबाइल वालेटबाट हुने कारोबार बढी पारदर्शी हुने भएकाले यसलाई बढावा दिन कारोबार सीमा बढाइएको कार्यकारी निर्देशक मिश्रले बताए ।
राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारको पनि अधिकतम सीमा तोकेको छ । नयाँ व्यवस्थाअनुसार क्यूआर कोडसहितको मोबाइल बैंकिङमा दैनिक ५० हजार रुपैयाँ र मासिक २ लाख रुपैयाँ कारोबार गर्न पाइनेछ । इन्टरनेट बैंकिङअन्तर्गत मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख र मासिक ३० लाख कारोबार गर्न पाइनेछ ।
एटीएम बुथमा चिनियाँ ह्याकरबाट आक्रमण भएपछि परिपत्र जारी गर्दै राष्ट्र बैंकले प्रत्येक बुथमा सुरक्षाकर्मी राख्नसमेत निर्देशन दिएको थियो । तर, अहिले उक्त एकीकृत निर्देशनमा यो व्यवस्थालाई हटाएकाले बैंकले यसलाई कार्यान्वयन गर्नु नपर्ने भएको छ । बैंकहरूले सीसी टिभीबाट निगरानी बढाउने भएकाले पनि सुरक्षा गार्डको व्यवस्था हटाएको मिश्रको तर्क छ ।आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS