काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि तरकारी तथा फलफूलको मूल्य बढेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै भ्याट छुट खारेज गरेको थियो । सरकारले भ्याट छुट खारेज गरेको अधिकांश तरकारी तथा फलफूलको मूल्य दोब्बर रुपैयाँले महँगिएको छ ।
सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ती वस्तुमा दिँदै आएको छुट खारेज गरेको घोषणा गरेका थिए ।
सरकारले प्याज र शालौट, केराउ, आलु, केराउहरु, बोडीहरु, पालुंगो न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ ।
सरकारले तरकारीसहित एभोकेडो, स्याउ, नास्पति, क्विन्स (श्रीफल) , खुर्पानी, चेरीहरु, अमिलो चेरीहरु, स्ट्रबेरी, रैस्पबेरी, ब्ल्याकबेरी, मलबेरी र लोकानबेरी, कालो, सेतो वा रातो किसमिस वा दाख वा मुनक्का र गुस्बेरीहरु, क्रेनबेरी, बिलबेरी, अन्य भ्याक्सिननियम जातिका फलहरुको छुट भ्याट खारेज गरेको छ । जुन कृषकका लागि सकारात्मक पक्ष हो । तर, उपभोक्ताको भान्सा महगिँदै गएको छ ।
सरकारले बजेट सार्वजनिक गरेको १० दिनको अवधिमा अधिकांश तरकारी तथा फलफूलको मूल्य बढेको छ । बजेट घोषणा गरेको दिन अर्थात् जेठ १५ गते कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यअनुसार सुकेको प्याजको मूल्य प्रतिकिलो औसत मूल्य ३५ रुपैयाँ तोकेको थियो ।
अहिले सोही प्याज बजारमा प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ । समितिले गत जेठ २१ गते सुकेको प्याजको मूल्य प्रतिकिलो ५१ रुपैयाँ तोकेको थियो । त्यसपछि भने समितिले प्याजको मूल्य तोकेको देखिँदैन ।
तर, बजारमा भने प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । तीन दिनअघि मात्रै प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको प्याज जेठ २६ गते ८० रुपैयाँ पुगेको तरकारी व्यवसायी लक्ष्मी कार्कीले बताइन् ।
उनका अनुसार अधिकांश प्याज बाहिरबाट आउने भएकाले सरकारले भ्याट लाग्ने बनाएपछि प्याजको मूल्य व्यवसायीहरुले बढाएको बताएका छन् । सोहीअनुसार उनले प्याज कालीमाट ल्याएर बिक्री गरिरहेको जानकारी दिइन् ।
प्याजको मूल्य १० दिनको अवधिमै दोब्बर बढेको छ । सरकारले प्याज आयातमा भ्याट लाग्ने बनाएसँगै उपभोक्ता मर्कामा परेका छन् । नेपाल अन्य केही तरकारीमा आत्मनिर्भर भए पनि प्याजमा भने भारतकै भर पर्नुपर्ने स्थिति छ । प्याजमा अन्य मुलुकसँगै भर पर्नुपर्ने अवस्था छ । त्यसैले बजारमा सरकारको नीतिले प्रत्यक्ष असर देखिएको छ ।
त्यस्तै, सरकारले लसुनको पनि भ्याट खारेज गरेको थियो । सुकेको चाइनिज प्याजको मूल्य बढेको छैन तर गत जेठ ५ गते सुकेको लसुन नेपालीको मूल्य भने प्रतिकिलो १४० रहेकोमा जेठ २६ गते आइपुग्दा २१० रुपैयाँ पुगेको छ ।
गत जेठ १५ गते रातो आलुको औसत मूल्य ३९.२० रुपैयाँ रहेकोमा जेठ २६ गते ४५.६७ रुपैयाँ, चमसुरको साग ९३ रुपैयाँबाट बढेर ११७ रुपैयाँ र पालुंगोको साग ९३ रुपैयाँबाट बढेर ११७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, जेठ १५ गते मेथीको प्रतिकिलो औसत मूल्य ९७ रुपैयाँ थियो भने जेठ ११७ रुपैयाँ पुगेको छ । तरकारी मात्रै नभएर फलफूलको मूल्य पनि उच्च बढेको छ । सरकारले एभोकाडो, स्याउ र नासपातिमा पनि भ्याट खारेज गरेको छ ।
कालिमाटी बजार विकास समितिका अनुसार एभोकाडोको मूल्य १० दिनको अवधिमा १५० रुपैयाँले बढेको छ । जेठ १५ मा एभोकाडाको औसत मूल्य प्रतिकिलो ४५० रुपैयाँ रहेकोमा जेठ २६ गते ५५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, बजेट सार्वजनिक भएको दिन स्याउको औसत मूल्य २६७ रुपैयाँ थियो । अहिले बढेर ३ सय रुपैयाँ पुगेको छ । किबीको मूल्य भने यथावत् छ ।
FACEBOOK COMMENTS