काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् ।
छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरु नेपाल पे क्यूआरमा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।
FACEBOOK COMMENTS