काठमाडौ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको भेटमा मुख्य सचिव डा अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए ।
महासङ्घले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको छ ।
भेटका क्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई बधाइ दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरे । अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संसोधनका लागि पहल गर्न आग्रह गरे ।
महासङ्घले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए । यस विषयमा मुख्य सचिव अर्यालले गृह मन्त्रालयसँग समन्वय गर्ने जवाफ दिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ढाकालले जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगरउद्योग वाणिज्य सङ्घले आयोजना गर्नेगरी प्रावधान बनाइनुपर्ने माग माग गरे ।
भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रबारे सरकारको प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए । महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए ।
FACEBOOK COMMENTS