काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरूको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरूको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिएका हुन् ।
नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारण सभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरूको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्व हाराहारीमा निर्यात सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।
उनले भने, ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरूको पहिचान हुन सकेको छैन । निर्यात भइरहेका वस्तुहरूको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफी जस्ता वस्तुहरूको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन ।’
नेपाली बस्तुहरूको निर्यात सहजीकरणको लागि मुख्य मुख्य भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियकरण क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्नेमा उनले जोड दिए । अर्को प्रसङ्गमा अध्यक्ष मल्लले करको दर भन्दा पनि दायरा बढाउन तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
राजश्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै सङ्कुचित हुन पुगेको बताए । केही वस्तुहरूको आयात प्रतिबन्ध लाग्दा राजश्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
मुलुकको आर्थिक नीतिमा सबै दलहरू एकै ठाउँमा उभिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउनुपर्ने सवै दलहरूको एउटै धारणा बन्नुपर्ने उनको भनाई छ । युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा उनले जोड दिए ।
FACEBOOK COMMENTS