काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको बताए । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।
गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो छातीको शल्यक्रिया भएको हो । अस्पतालका अनुसार राष्ट्रपतिको मुटुको धड्कनलाई सामान्य राख्न छातीको शल्यक्रिया गरेर स्थायी पेसमेकर राखिएको छ ।
FACEBOOK COMMENTS