लाङ्टाङ राष्ट्रिय निकुञ्जमा बहुउद्देश्यीय नर्सरी निर्माण
कर्पोरट खबर
1:27 pm, शुक्रबार, असार ८, २०८०
रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जले धुञ्चेस्थित आफ्नो कार्यालय परिसरमा बहुउद्देश्यीय नर्सरी निर्माण गरेको छ । वनस्पतिलगायत विविध प्रकारका फलफूल बिरुवासमेत उत्पादन गराई मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्रदान गर्ने उद्देश्यका साथ नर्सरी निर्माण गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार एकसाथ ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी निर्माण गरी बिरुवा उत्पादन गर्न पहिलो चरणअन्तर्गत प्लास्टिकमा माटो भर्ने काम धमाधम अगाडि बढिरहेको छ ।
निकुञ्जको संरक्षित र निकुञ्जअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको खाली पाखामा रोपण गरिने बिरुवा आफैँले उत्पादन गरी बिरुवाको आपूर्ति व्यवस्थालाई सहज पार्ने प्रमुख लक्ष्यका साथ सानो आकारमा रहेको नर्सरीलाई सदुपयोग गर्दै नयाँ ढाँचाबाट निर्माण गरिएको निकुञ्जका प्राविधिकले बताएका छन् ।
बाहिर सेतो प्लास्टिकले घर जसरी छाइएको छ भने भित्र बिरुवा अड्याउने डिल सिमेन्टको संरचनासमेत राखिएको छ । निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जन बढाउन उक्त नर्सरीमा स्थानीय हावापानी सुहाउँदा ओखर, कागती, सुन्तला, स्याउ, अन्जिरलगायत विविध फलफूलका बिरुवासमेत उत्पादन गरी वितरण गरिने लक्ष्य रहेको र देशैभरको तुलनामा लाङ्टाङ निकुञ्जले तयार गरेको नर्सरी नमूना भएको निकुञ्ज कर्मचारीले दाबी गरेका छन् ।
निकुञ्जको संरक्षण कार्य प्रभावकारी तवरले अगाडि बढिरहेको र लाङ्टाङ राष्ट्रिय निकुञ्जले गरेको सुधारात्मक पाटो अत्यन्तै राम्रो भएको बताइएको छ । यस्तै निकुञ्ज कार्यालयले पवित्र तीर्थ धार्मिक मार्ग गोसाइँकुण्डको चोलाङ पाटीमा नयाँ भवन निर्माण सम्पन्न गरेको छ ।
रेडपान्डाको संरक्षित क्षेत्र भएको र त्यस स्थानमा संरक्षण पोष्ट राख्न आवश्यक परेकाले भवन निर्माण सम्पन्न गरिएको तथा सो स्थानमा नियमित कर्मचारी बसी रेडपान्डालगायत हिमाली जैविक विविधता एवम् गोसाइँकुण्ड जाने हेलिकप्टर समेतको अवलोकन गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS