काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् ।
उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् ।
प्राधिकरण र ऊर्जा उत्पादकहरुबीच वर्षायाममा १० प्रतिशतसम्म लोड घटाउन भन्नसक्ने उल्लेख हुने गरेको छ । सोही आधारमा प्राधिकरणले वर्षायाममा बढी उत्पादन हुने र खपत हुन नसकेर खेर जाने भएकाले बिजुली उत्पादन घटाउन भनेको छ । तर प्रसारण लाइनको क्षमता हुँदाहुँदै पनि प्राधिकरणले उत्पादन घटाउन लगाएको आरोप लगाउँदै प्राधिकरणविरुद्ध अदालत जान परे पनि जाने इप्पानले जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको असर धेरै ठाउँमा पर्ने बताए । प्राधिकरणले ‘टेक अर पे’ भनेर विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० गरिसकेपछि आयोजना बन्द भएपनि त्यसको पैसा दिनुपर्ने कार्कीको भनाइ छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैंकहरूको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रुपमा लिएको बताए । ‘४० करोड रुपैयाँ पूँजी रहेको कम्पनीको २२ करोड रुपैयाँको विद्युत खेर फालेपछि कम्पनी कसरी चल्छ रु’ उनले भने, ‘अहिले ३० आयोजनाको ५०० मेगावाट विद्युत प्राधिकरणले खेर फालिरहेको छ ।’
इप्पानका सल्लाहकार तथा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले प्रसारणलाइनको क्षमता हुँदाहुँदै बदनियतपूर्ण ढंगले विद्युत प्राधिकरणले विद्युत खेर फालेको बताए ।
विद्युत प्राधिकरण स्रोतका अनुसार कतिपय स्थानमा उत्पादकहरु आफैंले र कतिपय स्थानमा प्राधिकरणले पूर्वाधार बनाउन नसकेका कारण रातिको समयमा कुनै दिन अधिकतम १०० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिएको छैन । साथै बाढीले क्षति पुर्याएको र प्राविधिक समस्या आएका कारण पनि बिजुली उत्पादन प्रभावित भएको छ ।
FACEBOOK COMMENTS