काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्पष्टीकरण नदिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।
किरातीले मंगलबार प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालयले सोधेको स्पष्टीकरण नदिएको र स्वायत्त निकाय हो भन्दै फेसबुकमा टिप्पणी लेखेकोबारे ‘एक्सन’ लिनुपर्ने बताएका थिए ।
तर, प्रधानमन्त्रीले ‘यसबारे अपराह्न बस्ने मन्त्रिपरिषदमा छलफल गरौँला’ भनेर जवाफ दिएको स्रोतले जवाफ दियो ।
किरातीले प्रधानमन्त्री प्रचण्डलाई तालुकवाला निकायले प्रक्रिया पुर्याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने बताएको मन्त्रीनिकट स्रोतले बतायो ।
छलफल गरेर टुंगोमा पुग्ने प्रधानमन्त्रीले मन्त्रिपरिषदमा त्यसबारे कुरा नउठाएपछि मन्त्री किरातीले मन्त्रालयगत निर्णय गरेर कारबाहीको सिफारिस गर्ने तयारी गरेका छन् ।
यसबारे उनले परामर्श गरिरहेको स्रोतले बतायो ।
‘मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिनु भनेको अराजकता हो, अब हामी मन्त्रिपरिषद्समक्ष कारबाहीको सिफारिस गर्छौं,’ मन्त्रालय स्रोतले भन्यो ।
त्यस्तै मन्त्री किरातीले महालेखाको प्रतिवेदनलाई आधार बनाएर महानिर्देशक अधिकारीविरूद्ध कारबाहीका लागि अख्तियारमा फाइल पठाउने तयारी गरेको पनि स्रोतले बतायो ।
‘उनका कर्तुतहरू छर्लंगै छन्, त्यसैको जवाफ र सफाइको मौका पनि दिएकै हो, अब आवश्यक छानबिन र जाँचबुझका लागि अख्तियारमा फाइल पठाउँछौं,’ मन्त्रालय स्रोतले भन्यो ।
पर्यटनमन्त्री किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए ।
लगत्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए ।
‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन्न, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नि’, फेसबुकभरि सोधिएको स्पष्टीकरणको मैले कसरी जवाफ दिनु?’ उनले प्रतिक्रिया दिएका थिए ।
स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका थिए ।
FACEBOOK COMMENTS