बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित
कर्पोरट खबर
4:25 pm, आइतबार, असार २४, २०८०
बेनी । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ ।
संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पु¥याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पु¥याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए।
“बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको”, उनले भने। आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ ।
ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख बराबरको क्षति पु¥याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजना स्थलतर्फको सडकखण्ड अन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ ।
बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दैआएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए ।
हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत्गृहसम्म ल्याउन २ हजार ७ सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म २ हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत रु तीन अर्ब ६० करोड अनुमान गरिएको छ
FACEBOOK COMMENTS