नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा
कर्पोरट खबर
3:49 pm, मंगलबार, असार २६, २०८०
i1.wp.com
गलेश्वर । जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १ सय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो ।
नारच्याङमा १६ अर्बको लागतमा १ सय ९ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए । उनका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
नीलगिरि खोला हाइड्रोपावरले ४ वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो । यो जिल्लामै ठूलो आयोजना हो । कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरु निर्माण गरिएका छन् ।
आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माण काम सकिएको छ । नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको ४ हजार २ सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको इन्जिनियर तामाङले जानकारी दिए। पेनस्टक र टनेल खन्ने काम सकिएर पहिलोको ८ सय मिटर र दोस्रोको १ हजार ५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ ।
तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । क्यासकेडको विद्युत्गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ ।
करिब रु १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली दुई सय २० केभिए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ ।
छोटेपा–दोबिल्ला हँुदै दाना सबस्टेसन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटा मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ ।
दुवै आयोजनाका लागि निर्माण गरिने विद्युत्गृहको सिभिल स्ट्रक्चरको काम सकिएर इलेक्ट्रोमेकानिकलको काम थालिएको छ । भौगोलिक विकटताका भएर पनि आयोजना निर्माणले तीव्रता पाएको इन्जिनियर लामाले बताए। आगमी ६ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS