काठमाडौँ । हिमाली जिल्ला मनाङका पशु चौपायामा पनि लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिएका हुन् ।
उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए । “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भने । स्मरण रहोस्, देशका ७६ जिल्लामा यसअघी नै पुगिसकेको लम्की स्किन मनाङमा पनि पुगे सँगै अब भने देशका सबै जिल्लामा फैलिएको प्रमाणित भएको छ ।
किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताए। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उनले बताए। उक्त जातको गोरु होचो कदको रहेको छ । “गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाई गोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रबन्ध मिलाएका छौँ”, कुसुमले भने।
मनाङमा पहिलो पटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोपको व्यवस्था गरिएको कुसुमले जानकारी दिए । मङ्गलवारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए । मनाङमा गाई गोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताए ।
FACEBOOK COMMENTS