काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करिब २ हजार ७ सय बिरामीले सेवा लिँदै आएका छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए।
उनका अनुसार बिरामीले अनावश्यक दुःख झेल्न नपरोस् र अस्पतालको सेवालाई थप व्यवस्थित गर्न सकियोस् भनी धेरै भीडभाड हुने नाक, कान, घाँटी, बाथरोग, हाडजोर्नी उपचारसँग सम्बन्धित विभागमा टोकन प्रणाली लागू गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा विभिन्न विधाका ३६ वटा विभागमा करिब दुई हजार दुई सय जनशक्ति कार्यरत रहेको जानकारी दिँदै उनले त्रिवि शिक्षण अस्पताल हाताभित्र रहेका विपी कोइराला आँखा उपचार केन्द्र र मनमोहन कार्डियो भास्कुलर ट्रास्प्लान्ट सेन्टर भने अलग्गै रहेको स्पष्ट पारे।
स्थापनाकालमा ३ सय एक शय्या रहेको अस्पतालमा अहिले आठ सय एक शय्या रहेको जानकारी दिँदै प्राडा काफ्लेले छोटो समयका लागि थप दुई सय शय्यासमेत गरी एकैपटक एक हजार बिरामी अस्पतालमा भर्ना गरी उपचार गर्न सकिने व्यवस्था रहेको बताए।
FACEBOOK COMMENTS