काठमाडौं । हिमाल आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले बाँच्नु नै सबैभन्दा ठुलो जित भएको बताएकी छिन् । उनले जोखिमयुक्त हिमाल भएकोले किलर माउन्टेनकोसमेत उपमा दिइएको ‘के–टु’ को सफल आरोहण गरेपछि यस्तो बताएकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेकी छिन् , ‘सहन नसक्ने कष्ट भोग्नु भन्दा आफ्नाे मृत्यु नै होस भनेर कामना गरे , होशमा रहनु भन्दा बेहोस नै होस भनेर इच्छा गरे, तर सबै होशमा र जीवितमा भोगे र ‘के–टु’ हिमालबाट बाँचे ।’
श्रेष्ठले पाकिस्तानको स्कार्दुबाट लेख्दै भनेकी छिन्, ‘विश्वको दोस्रो अग्लो हिमाल ‘के–टु’ सफलतापूर्वक आरोहण गरेकोमा म अत्यन्तै खुसी र गर्व महसुस गर्छु।
मेरो सपना पूरा गरेको कारण मात्र होइन, म बाँचेकोले पनि खुसी छु । किनभने बाँच्नु नै मेरो लागि सबैभन्दा ठुलो जित हो । विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा ‘के–टु’ हिमालको आरोहण गर्न गाह्रो छ ।’
उनले परिवार, साथी, समर्थक र शुभचिन्तकहरू सबैलाई सहयोग कामनाकोलागि धेरै धेरै धन्यवाद दिएकी छिन् । उनले घर फर्केपछि उत्सव मनाउने बताएकी छिन् भने सबैसँग छिटै नेपालमा भेट्ने बताएकी छिन् ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने अभियानमा रहेकी गोरखाकी पूर्णिमा माउन्ट केटु आरोहणका निम्ति जेठ अन्तिम साता पाकिस्तान लागेकी थिइन् । ७५ दिनको यो लामो आरोहण उनले ३० जेठदेखि सुरु गरेकी थिइन् । उनले इस्लामाबाद हुँदै उक्त हिमाल चढेकी हुन् । ८ हजार ६ सय ११ मिटर उचाइको यो हिमाल चढ्ने नेपाली महिलामा उनी चौथो हुन् ।
माउन्ट केटु आरोहणका लागि जोखिमयुक्त हिमालका रुपमा चिनिन्छ। त्यसैले यसलाई किलर माउन्टेनको समेत उपमा दिइएको छ ।
विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै छन् । श्रेष्ठले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । यहाँको चोयु उनी चढ्न बाँकी छ । भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन । यो हिमाल तिब्बततिरबाट चढ्नुपर्छ ।
पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । २०७९ जेठ २० गते शुक्रबार नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सकेकी छिन् ।
उनले ६ वर्षअघि आफ्नै जिल्ला गोरखाकै मनास्लु हिमालबाट आरोहण सुरु गरेकी हुन् । उनले विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भएकी थिइन् । त्यस्तै सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर (८८४८.८६ मिटर) सगरमाथाको सफल आरोहण गरिन् । त्यसै गरी सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण (८,०९१ मिटर) प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको गरेकी थिइन् । साथै धौलागिरि (८१६७ मिटर) आरोहण सन् १ अक्टोबर २०२१ मा गरेकी थिइन् भने कञ्चनजङ्घा (८५८६ मिटर) ०५ मे २०२२ मा गरेकी थिइन् । त्यस्तै ल्होत्से (८,५१६ मिटर) शिखर १६ मे २०२२ र मकालु (८४८१ मिटर) २७ मे २०२२ मा सफल आरोहण गरेकी थिइन् ।
गोर्खा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा श्रेष्ठ जन्मिएकी हुन् । उनी चन्द्रप्रसाद र गंगाकी एकमात्र छोरी हुन् । पूर्णिमा पेसाले फोटो पत्रकार हुन् । उनले २०७५ जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर उनको अदम्य साहसको सर्वत्र प्रशंसा सुरु भएको थियो ।
FACEBOOK COMMENTS