काठमाडौं, माघ ५ -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुखको टुंगो लगाएका छन् । सभामुखमा अग्नि सापकोटालाई उम्मेद्धार बनाउने बिषयमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डबीच सहमती भएको हो ।
सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ ।
यो सहमतिलाई आइतबार नेकपा सचिवालय बैठकले अनुमोदन गरेपछि सोमबार सभामुखको निर्वाचन प्रक्रिया प्रतिनिधि सभामा हुनेछ । यो प्रक्रियाअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्नेछिन् ।
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।
नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाउन लागेको हो ।
सभामुखमा तुम्बाहाङ्फेले पनि दाबी गर्दै आएकी थिइन् । तर दुई अध्यक्ष सापकोटालाई सभामुख बनाउन सहमत भएपछि तुम्बाहाङ्फेको दावी व्यर्थ हुने भएको छ ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।
FACEBOOK COMMENTS