काठमाडौं, माघ ६- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
सरकारले २०७५ भदौ ३१ गते निगम सञ्चालक समितिको कार्यकारी अध्यक्षमा उनलाई नियुक्त गरेको थियो । खरेलको कार्य सम्पादनबाट सरकार सन्तुष्ट नभएपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
नियुक्ति गर्दा खरेललाई निगमले भित्र्याएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यावसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो । साथै, निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउन आधारभूत काम गर्नुपर्ने जिम्मेवारीसमेत उनलाई दिइएको थियो । तर, १ वर्षसम्म पनि प्रभावकारी काम गर्न नसकेपछि उनीमाथि प्रश्न उठ्न थालेको थियो ।
यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो । यस्तै उनले एक महिने बिदा माग्दा अस्वीकृत भएको थियो भने त्यसपछि राजीनामा दिने निर्णयमा पुगेका थिए ।
FACEBOOK COMMENTS