काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धमा राष्ट्रबैंकको पछिल्लो व्यवस्था व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जा सम्वन्धी नयाँ व्यवस्था जीडीपीमा महत्वपुर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्र मैत्री हुनुपर्ने चेम्बरको भनाई छ।
चेम्बरद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रबैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेर केही राहत दिन खोजेको छ । जीडीपीमा महत्वपुर्ण योगदान गर्ने व्यवसायिक क्षेत्रमा पनि चालु पुँजी कर्जा मार्गदर्शन लचिलो हुन आवश्यक छ ।’
चालु पुँजी कर्जाको सीमालाई राष्ट्र बैङ्कले एकै बास्केटमा नराखी व्यवसायको प्रकृतिको आधारमा निर्धारण गर्न समेत चेम्बर अफ कमर्सले आग्रह गरेको छ । कर्जाको सीमा बैंक र ऋणीबीच आवश्यकताका आधारमा निर्धारण भए व्यावसायिक वातावरण सहज हुने चेम्बरले उल्लेख गरेको छ ।
पछिल्लो समय उच्च ब्याजदरका कारण लगानी निरुत्साहित भइरहेका बेला लचिलो चालु पुँजी कर्जाको नयाँ व्यवस्थाबाट थप सहजीकरण गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
चालु पुँजी कर्जाको क्यास क्रेडिट खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन न्यूनतम सीमाको बक्यौता कायम गर्ने व्यवस्था अव्यवहारिक भएकाले खारेज हुनुपर्ने चेम्बरको ठहर छ ।
यस्तै निष्क्रिय कर्जामा वर्गीकरण गरिएको कर्जाको भाका नागेको बक्यौता रकम भुक्तानी हुने बित्तिकै असल वर्गमा स्तरोन्नति गरी कर्जा नोक्सानी व्यवस्थालाई तत्कालै खारेज गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।
FACEBOOK COMMENTS