काठमाडौं, माघ ८- नेपाल उद्योग वाणिज्य महासंघ र अर्न्तराष्ट्रिय श्रम संगठन (ILO) बीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम संचालन गर्ने सम्बन्धमा संझौता सम्पन्न भएको छ ।
महासंघ सचिवालयमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अध्यक्ष भवानी राणाले आइएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भईरहेकोमा धन्यवाद दिदै अव सञ्चालन हुन लागेको नयां परियोजनाले महासंघको प्रदेशस्तरीय संगठनको क्षमता विकास एवं प्रदेश सरकारसंगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताइन् ।
परियोजनाको लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा डीएफआईडी (DFID) लाई धन्यवाद दिदैं महासंघ डीएफआईडीसंग मिलेर थप कार्यक्रम सञ्चालन गर्न ईच्छुक रहेको धारणा प्रस्तुत गरे।
सो अवसरमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले यस परियोजनाद्वारा संचालन हुने कार्यक्रमले प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासका साथै प्रदेश स्तरमा सामाजिक संवाद र श्रम सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले यो परियोजनाको कार्यान्वयनबाट व्यवसायिक वातावरण प्रवर्द्धन गर्न सहयोग पुग्ने धारण व्यक्त गरेका थिए ।
हस्ताक्षर कार्यक्रममा सहभागी हुनु भएका डीएफआईडी (DFID) नेपाल अफिसका निजी क्षेत्र विकास सल्लाहकार रोबर्ट क्लाकले यो परियोजना संचालनमा सहयोग गर्न पांउदा खुसी लागेको बताउदै डीएफआईडीले नेपालको रोजगारी प्रवर्द्धन शिप विकासका क्षेत्रमा निजी क्षेत्रसंग मिलेर सहकार्य गर्न ईच्छुक रहेको बताए।
उक्त अवसरमा आइएलओका राष्ट्रिय कार्यत्रम संयोजक प्रकाश शर्माले डीएफआईडीको आर्थिक सहयोगमा प्रदेश २ र प्रदेश ५ लाई लक्षित गरी संचालन हुने कार्यक्रमले व्यवसाय सम्बन्धि ऐन कानून वारे जानकारी दिन र प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS