काठमाडौं । हरितालिक तीज पर्वका अवसरमा देशभरका शिवालयमा भक्तजनको गुइँचो लागेको छ ।
हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि रमाएका छन् । पशुपतिनाथ मन्दिर परिसरमा सोमबार विदेशी महिलाहरुले तीज गीतमा कम्मर मर्काएका छन् ।
राता कुर्ता–सुरुवालमा सजिएका उनीहरु तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए । आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए ।
तीजको अवसरमा पशुपति नाथ मन्दिरमा पूजा गर्ने र नाचगान गर्नेहरुको बिहानैदेखि घुइँचो छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।
नेपालमा मनाइने कतिपय चाडबाडहरु सबै धर्म र सम्प्रदायहरुले आपसमा मिलेर रमाइलो गर्ने गरेका छन् । नेपाली चाडबाडले मनोरञ्जनमात्र नभइ आपसी सदभाव र एकताको सन्देश पनि दिने गरेका छन् ।
आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको किंवदन्ती छ ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको र साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको धार्मिक मान्यता छ ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
तस्बिरहरूः
FACEBOOK COMMENTS