काठमाडौं । संविधान दिवसको दिन पारेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार उद्घाटन गरेर आजबाट सार्वजनिक रुपमै सुरु गरेको द्रुत बस सेवाका कारण सडक अस्तव्यस्त बनेको छ ।
बिहान ९ बजेबाट ११ बजेसम्म र साँझ ४ बजेबाट ६ बजेसम्म रत्नपार्कबाट सूर्यविनायकका लागि चल्ने द्रुत बस सेवाअन्गर्ततको यातायातको व्यवस्थापन कमजोर हुँदा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त देखिएको छ ।
प्रायः कोटेश्वर क्षेत्रमा हुने जाम द्रुत बस सेवा सञ्चालनमा आएपश्चात राधेराधेसम्म पुगेको छ । दैनिक रुपमा डेढ किमि हुने कोटेश्वर–सूर्यविनायक खण्डको जाम बिहीबार द्रुत बस सेवाका कारण ५ किमिभन्दा धेरै भएको छ । सँगै सर्भिस लेन पनि अस्तव्यस्त बनेको छ ।
सरकारले ४५ मिनेटमा नै रत्नपार्कदेखि सूर्यविनायक तथा सूर्यविनायकदेखि रत्नपार्क आइपुग्ने गरि यो बस सेवाको सुरुवात गरेको थियो । काठमाडौंदेखि बनेपा तथा काभ्रे सडकखण्डमा चल्ने पुरानै बसलाई द्रुत बस सेवाको नाम दिँदै यसको सुरुवात भयो । तर, कमजोर तयारी र व्यवस्थापनका कारण यसले थप ट्राफिक जाम बढाएको छ ।
उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित मन्त्रालयका अधिकारी चढेर यात्रा गरेका थिए । द्रुत बस सञ्चालनका लागि सडक विभागले रोडमा रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ ।
द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म बिहीबारबाट २५ वटा बसहरू नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने रंग पोतिएका डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन ।
तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ । यी बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँदैनन् ।
द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहने प्रवक्ता पनेरूले बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी पोषराज पोखरेलले ट्राफिक लाइट मान्नु पर्ने बताए ।
उनले भने, ‘तोकिएको स्थानबाहेक अन्य स्थानमा ‘पिक एण्ड ड्रप’का लागि रोक्ने वित्तिकै कारवाही हुन्छ, लेनक्रसको विषयमा र अन्य अनुशासनको विषयमा पनि चेतना आवश्यक छ ।’
हिजो उद्घाटनको क्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले द्रुत बस सेवा १ किलोमिटरको फरकमा गुड्ने बताएका थिए । लेन कन्ट्रोल गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले द्रुत बस सेवा सञ्चालनको प्रभावकारिता निर्धारण हुने उनले बताएका थिए । ओभरटेक गर्ने प्रयोजनका लागि समेत यो लेन प्रयोग गर्न नमिल्ने भएकाले यसको कार्यान्वयन सहज भने नभएको उनले बताएका थिए ।
‘हामीले ४५ मिनेटमा रत्नपार्क–सूर्यविनायक पुग्ने समय राखेका छौं, सधैं यही समय कायम गराउन चुनौतीपूर्ण छ । स्टेशन बाहेक अन्य स्थानमा चढाउन र ओराल्न पाइँदैन, ३० सेकेन्ड भित्र त्यो काम भइसक्नुपर्छ । यो कायम गर्नु पनि अर्को चुनौती हो,’ रिजालले भने । सार्वजनिक सवारी चढेर समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने निश्चित भए ७–८ वर्षपछि ठूलाबसहरु चल्ने र साना गाडीहरु घट्ने उनले बताएका थिए ।
रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ । यो सेवामा बस चढ्नका लागि यात्रुले अन्य सार्वजनिक यातायाता सरहनै भाडा तिर्नु पर्नेछ ।
FACEBOOK COMMENTS