काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै ३ अर्ब बढीको व्यापार गरेका छन् । संचालनमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको दुई महिना साउन–भदौमा कम्पनीहरुको ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको कुल व्यवसाय गरेका छन् ।
समीक्षा अवधीमा कम्पनीहरुले ४ लाख ८ हजार ९७३ वटा बीमालेख बिक्री गरेका छन् । तर, भदौमा मात्रै भने कम्पनीहरुले १ लाख ९५ हजार १७० वटा बीमालेख बिक्री गरेका हुन् । कम्पनीहरुबीच व्यावसाय वृद्धिमा निकै प्रतिस्पर्धा देखिएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी (सलिको) ले गरेको छ । दुई महिनामा सलिकोले ९१ करोड ४७ हजार रुपैयाँ बराबरको व्यापार गरेको हो । साउन–भदौमा मात्रै कम्पनीले ४६ हजार ९५८ वटा बीमालेख बिक्री गरेको छ । सलिकोले भदौमा मात्रै ३६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जन गर्नेमा सलिको नम्वर वान बनेको छ । भदौमा कम्पनीले २२ हजार ४७८ वटा बीमालेख बिक्री गरेको छ ।
व्यवसायको आधारमा दोस्रो नम्वरमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । चालु आवको दुई महिनामा कम्पनीले ७३करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साउन र भदौ महिनामा कम्पनीले ५० हजार ८६१ वटा बीमालेख बिक्री गरेको छ । यद्यपि, भदौमा मात्रै कम्पनीले २३ हजार ६७७ बीमालेख बिक्री गरि ३० करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
विगतमा पहिलो स्थानमा रहेको शिखर इन्स्योरेन्स भने तेस्रो पोजिनमा पुगेको छ । मर्जरपश्चात अन्य कम्पनीहरु बलियो बन्दै गएका छन् । यद्यपि, वार्षिक व्यापारको आधारमा भने शिखर नै अगाडि देखिन्छ । चालु आवको पहिलो दुई महिनामा शिखरले ६६ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको हो । सो अवधिमा कम्पनीले ४३ हजार १८६ वटा बीमालेख जारी गरेको छ । भदौमा मात्रै कम्पनीले ३२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले २० हजार ६०३ वटा बीमा जारी गरेको छ ।
यता, हिमालयन एभरेष्ट पनि व्यापारमा आक्रमक नै देखिएको छ । कम्पनीले दुई महिनामा ६४ करोड २१ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले साउन र भदौमा ३७ हजार ३८७ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । भदौमा मात्रै हिमालयन एभरेष्टले १७ हजार ९१७ वटा बीमालेख बिक्री गरि २९ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
पाँचौं नम्बरको सूचीमा रहेको आइजीप्रुडेन्सियल इन्स्योरेन्सले पनि ३६ हजार २६३ वटा बीमालेख बिक्री गरि ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा मात्रै १७ हजार ३९६ वटा बीमालेख बिक्रीबाट २४ करोड ५९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । व्यापारको आधारमा नेको छैठौं स्थानमा छ । दुई महिनामा नेकोले ४५ हजार ३१५ वटा बीमालेख बिक्री गरि ५२ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, भदौ महिनासम्ममा राष्ट्रिय बीमा कम्पनीले ६ हजार ४८९ बीमालेख बिक्री गरि ५१ करोड २९ लाख, युनाईटेड अजोडले ३१ हजार ९५९ वटा बीमालेख बिक्रीबाट ४५ करोड ३० लाख, प्रभुले १५ हजार २८६ बीमालेख बिक्रीबाट ४१ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । भदौमा मात्रै यी कम्पनीहरुले क्रमश: २१ करोड ८४ लाख, १८ करोड ८३ लाख र १६ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, भदौसम्ममा सानिमा जिआईसीले २४ हजार ९ं२ वटा बीमालेख बिक्रीबाट ३७ करोड ८८ लाख रुपैयाँ, दि.ओरिण्यटलले ६ हजार ६१६ बीमालेख बिक्रीबाट ३२ करोड ९९ लाख र नेपाल इन्स्योरेन्सले २७ हजार २२ वटा बीमालेख बिक्री गरि २३ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीरुले भदौमा मात्रै २० करोड, १२ करोड २७ लाख र ९ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
FACEBOOK COMMENTS