काठमाडौं, माघ १४- भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रूपमा कूटनीतिक पहल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको हो । मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यस्तो पत्र पठाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले भारत सरकारलाई यस विषयमा पत्र पठाएको पुष्टि गरे । परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले पनि वाणिज्य मन्त्रालयको आग्रहमा उक्त पत्र हालै भारत सरकारलाई पठाएको बताए । ‘वाणिज्य मन्त्रालयले भारतको उक्त प्रतिबन्ध खुलाउन कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो । सोहीअनुसार हामीले भारत सरकारलाई पत्राचार गरिसकेका छौं,’ पौड्यालले बताए ।
भारतको वैदेशिक व्यापार विभागले गत पुस २३ गते एक परिपत्र जारी गर्दै प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् पुस २४ गतेदेखि नै भारतीय भन्सारले नेपालबाट हुने पाम आयलको निकासी रोकिदिएको छ ।
पाम आयलको निकासी रोकेलगत्तै नेपाल सरकारले प्रतिबन्ध हटाउन भारत सरकारसँग अनौपचारिक रूपमा छलफल गर्दै आएको थियो । पुसको अन्तिम सातामै दुई देशबीच वाणिज्य सचिवस्तरीय वार्ता पनि भएको थियो ।
भारतको उक्त कदमले नेपाली व्यवसायीको अर्बौं रुपैयाँ बराबरको पाम आयल अहिले अलपत्रमा परेका छन् । पछिल्लो समय पाम आयल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको थियो । गतवर्ष नेपालदेखि रू. १० अर्ब ३३ करोडको प्रशोधित पाम आयल निर्यात भएको थियो । तर, चालू आवको ५ महीनामै गत आवको भन्दा पनि धेरै अर्थात् रू. ११ अर्ब ५२ करोडको पाम आयल निर्यात भएको सरकारी तथ्यांकले देखाउँछ । नेपालको कुल निर्यातमा प्रशोधित पाम आयलको अंश २५ प्रतिशत छ ।
नेपालका व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयल आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका थिए । तर, भारतले पाम आयलमा रोक लगाएपछि त्यस्ता व्यवसायी मर्कामा परेका छन् । विराटनगर, वीरगञ्ज क्षेत्रमा एक दर्जनभन्दा बढी व्यवसायीले यस्तो व्यवसाय गर्दै आएको बताइन्छ ।
आर्थिक अभियानसँग मन्त्री दुगडले दुईरतीनमा भारतको प्रतिक्रिया आउन सक्ने बताए । साथै, केही दिनमै दुई देशबीच उच्चस्तरीय वार्ता गर्ने तयारी पनि भएको उनको भनाइ छ । ‘पाम आयलको निकासी रोकिँदा ठूलो समस्या परेको छ । त्यसको प्रतिबन्ध खुलाउन हामी प्रयासरत छौं,’ उनले भने, ‘अहिलेसम्म भएका अनौपचारिक वार्ता तथा छलफलमा भारतको संकेत पनि सकारात्मक नै देखिएको छ ।’
भारत र नेपालबीच भएको वाणिज्य सन्धिअनुुसार भारतलाई पाम आयलको निकासी रोक्ने अधिकार भने छैन । किनकि, उक्त सन्धिमा पाम आयलको आयात निर्यात गर्न नपाउने भन्ने उल्लेख छैन । साथै, दुई देशको सरकारले जारी गरेको कुनै पनि परिपत्रभन्दा उक्त सन्धि माथि हुन्छ । तसर्थ, यस अवस्थामा नेपाललाई प्रतिबन्ध खुलाउने पहल गर्न उक्त सन्धि बलियो आधार बनेको छ । व्यवसायीहरूले पनि सोही सन्धिलाई आधार बनाएर प्रतिबन्ध खुलाउनतर्फ लाग्नुपर्ने सुझाव दिँदै आएका छन् ।
यस्तै, भारतले पाम आयलमा रोक नलगाएर यसको आयात गर्ने व्यवसायीलाई लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागिएको पनि बुझिएको छ । भारतले जारी गरेको परिपत्रमा रेस्ट्रिक्टेड शब्दको प्रयोग भएको छ, उक्त शब्दले प्रतिबन्ध नभएर यही अर्थ दिने जानकार व्यक्तिहरू बताउँछन् । हालसम्म भारतले पाम आयलको आयात गर्न स्थानीय आयातकर्तालाई खुला छोडिदिएको थियो । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS