काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको १७ औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।
बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्ने र सेवा बिस्तार गर्ने बताए।
यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए। त्यसअघि शंकर शर्मा अध्यक्ष भएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।
साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्। साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ भने उपयुक्त संस्थालाई गाभ्नेरगाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।
FACEBOOK COMMENTS