पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेक साइड अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले बुधबार उक्त आदेश गरेको हो।
देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो।
निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत्, लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सो को अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्न अदालतको आदेश छ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको निवेदकको दाबी थियो।
FACEBOOK COMMENTS