काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर धमाधम घटाउन थालेका छन् । बैंकको बेसरेट (आधारदर) घटेसँगै कर्जाको ब्याजदर पनि घट्न थालेको छ ।
असोज मसान्तसम्म केही बैंकको बेसरेट एकल अंकमा झरेको छ । एकल अंकमा नभएका बैंकहरुले पनि आधारदर घटाउँदै लगेका छन् ।
गत आवको पहिलो त्रैमासमा बैंकहरुको औषतमा आधारदर १०.०९ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ९.९९ प्रतिशत रहेको छ । असोज मसान्तसम्म १३ वटा बैंकको आधारदर घटेको छ । २० वटा बैंकमा ११ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी ९ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा कम छ ।
बैंकको आधारदर घटाउनेमा कुमारी, प्राइम, सिटिजन्स, एनआईसी एशिया, प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, एनएमबि, सानिमा, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
यस्तै आधारदर बढाउने बैंकमा हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास बैंक, नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नबिल र नेपाल बैंक रहेका छन् । आधारदर एकल अंकमा हुने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, एभरेष्ट, नबिल, सिद्धार्थ, नेपाल, राष्ट्रिय वाणिज्य र स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ ।
सबैभन्दा बढी आधारदर कुमारी बैंकको १०.९१ प्रतिशत रहेको छ भने सबैभन्दा कम स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४२ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS