काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठुला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भुकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताएका हुन् ।
उनले कोभिड–१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे । उनले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहयकार्यमा कारोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताए ।
अधिकारीले राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको बताए । उनले बैंकिङ प्रणालीले सबै संकटहरु समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताए ।
FACEBOOK COMMENTS