काठमाडौं, माघ २४ — कुखुराको मासुमा कार्टेलिङ गरिरहेका व्यवसायीले चल्ला र दानामा पनि चर्को मूल्य असुल्दै आएको पाइएको छ । उनीहरूले कार्टेलिङ गरेर सातामै चल्लाको मूल्य ३५ रुपैयाँसम्म बढाएका छन् । कुखुरापालक किसानका अनुसार नेपाल ह्याचरी उद्योग संघले माघ १० गते चल्लाको मूल्य ४० रुपैयाँ निर्धारण गरेको थियो ।
त्यसपश्चात मूल्य क्रमशः बढाएर एक सातामा ७० रुपैयाँ पुर्याइएको छ । किसानले भने ७५ रुपैयाँ तिर्दै आएको चुन्नीखेलस्थित चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विश्व खड्काले बताए । ‘सातामा चल्लाको भाउ ३५ रुपैयाँ बढ्नुपर्ने कुनै कारण नै थिएन तर संघसंस्था बनाएर वैधानिक ढंगबाट किसानलाई लुटेका छन्,’ उनले भने, ‘यसले किसान र उपभोक्ता सिधै मर्कामा परेका छन् ।’ ठूला व्यवसायी, दाना उद्योगी र ह्याचरी उद्योगीले प्रचलित कानुनविपरीत कालोबजारीरकार्टेलिङ गरिरहेको जनाउँदै राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिसमेत गठन गरिएको छ । समितिले आठबुँदे मागसहित नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेको छ ।
‘चल्ला र मासुको मूल्य दाना उद्योग संघ, ह्याचरी उद्योग संघ र राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको नियन्त्रणमा छ । यी तीन संघको मिलोमतोमा मूल्य बढाइयो,’ संघर्ष समितिका संयोजकसमेत रहेका खड्काले भने । समितिका अनुसार ३० देखि ३५ रुपैयाँमा चल्ला तयार हुन्छ । ह्याचिङ गरेर बाहिर निकाल्दा ३५ रुपैयाँभन्दा बढी पर्दैन । ‘३० रुपैयाँमा तयार भएको चल्लाको ह्याचरी उद्योगले ७० रुपैयाँ तोकेको छ । बजारमा भने ७५ रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘यो संस्थागत कालोबजारी हो ।’
ह्याचरी उद्योग संघका महासचिव बलराम किसीले माग र आपूर्तिको कारण मूल्य बढेको दाबी गरे । ‘उत्पादन पर्याप्त नहुँदा चल्लाको माग बढ्यो, मूल्य पनि त्यहीअनुसार वृद्धि भएको हो,’ उनले भने, ‘मूल्य माग र आपूर्तिले नै निर्धारण गर्ने हो ।’ उनले चल्लाको लागत मूल्य ५५ रुपैयाँ पर्ने दाबी गरे । ह्याचरी उद्योगीहरूले चल्ला अभाव दाबी गरे पनि जानाजान ‘चिक्स होलिडे’ गरेका थिए । मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो ।
मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे । ह्याचरी उद्योग संघका महासचिव किसीले भने चल्ला बिक्री नभएपछि नष्ट गरेको दाबी गरे । ‘मारेको होइन, डस्टबिनमा राखेको हो,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS