पृष्ठभूमि
सर्वप्रथमः सबैले यो बुझ्न जरुरी छ कि निजीसँग उठबस गरी सरकारी संस्थानको नेतृत्व गर्न कोही आउँछ भने त्यसले सरकारी संस्थानलाई अन्ततः खारेजीतर्फ लैजानेछ। पूँजीवाद हाबी हुनेछ। नेपालको संविधानले उल्लेख गरेको समाजवादको दिशातर्फ उन्मुख हुनुपर्ने भन्ने मूलमर्म विपरीत हुनेछ। जर्जर अवस्थामा पुगिसकेको नेपाल वायुसेवा निगममा नयाँ महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया चलिरहेको छ।
गणतान्त्रिक नेपालमा राष्ट्रिय र सरकारी संस्थानहरू एक आपसमा स्वस्थ प्रतिस्पर्धा गर्नु पर्नेमा केही दलाल पुँजीपतिहरु निगमलाई कमजोर बनाएर आफ्नो एकछत्र राज स्थापित गर्न क्रियाशील छन्। यिनैको उक्साहटमा नेपाल वायुसेवा निगम भित्रका निर्देशक तहका कर्मचारीहरू रातारात करोडौँ कमाउन तल्लीन छन्। अर्काको मरणमा आफ्नो जीवन देख्ने, घरमा आगो लगाई न्यानो ताप्दै बस्नेहरू फेरि पनि निजी व्यवसायीको प्रतिनिधि पात्र ल्याउन दौडधुप गरिरहेका छन्।
विगतमा नेपाल वायुसेवा निगमको नेतृत्व सबल नै थिएन भन्ने यो लेखको आशय होइन। फ्रेन्च कम्पनीले संस्थानको प्रगतिका लागि बनाइदिएको गोरेटोमा हिँडेर नै निगम उदयमान बनेको थियो तर बेलाबखतमा बाह्य स्वार्थ पूरा गरिदिने दलाल पूँजीपतिको बुख्याचा बनेर आउने नेतृत्वले निगमलाई पुनः धारासायी बनाउने गरेको पाइन्छ। इतिहासलाई नियाल्दा यो पाइन्छ कि बेलाबखत हक्की नेतृत्व नेपाल वायुसेवा निगममा नआएको भए उहिले बन्द भइसक्थ्यो। संक्षिप्तमा लुट र हतोत्साहका विवरणका केही दृष्टान्त मार्फत बुझेर जनता र जनप्रतिनिधि सचेत हुनुपर्ने बेला आएको छ।
संक्षिप्तमा लुट र हतोत्साहका विवरण
१. कमर्सिअल विभाग अन्तर्गत विभिन्न फाइदाजनक सेक्टर घटाउँदै लैजाने गरिन्छ। यसरी घटाउने क्रममा इन्धनको मूल्य बढेको भनी सरकार र जनतासमक्ष ढाँटिन्छ। यसरी सेक्टर घटाउँदा विदेशी र स्वदेशी निजी विमानलाई अरबौँ नाफा हुँदा करोडौँ अतिरिक्त आम्दानी लिएर नेतृत्व तह मोटाइरहेको हुन्छ।
२. सामान्य यात्रुलाई उसले पाउनुपर्ने सुविधा नदिई रूखो व्यवहार गरिन्छ भने ठूलठूला व्यापारीलाई तिनीहरूले ओसारपसार गर्नुपर्ने कार्गोमा अवैधानिक तरिकाले छुट दिँदै अतिरिक्त कमाइको धन्दामा संलग्न हुने गर्छन्। यसले गर्दा एकातिर आम जनता निगमसँग रुष्ट हुने तथा अधिकतम ज्यादा भार लिएर उड्नुपर्दा इन्जिनले ज्यादा इन्धनको माग गर्दछ। उडान अन्ततगत्व असुरक्षित हुन पुग्छ। आजसम्म यसै विभागले इ-टिकटलाई सुव्यवस्थित नगर्नुको पछाडि एउटै उद्देश्य हो- चलखेललाई निरन्तरता दिइरहने।
३. नेपालमै प्रतिस्पर्धी वायुसेवा कम्पनीहरू टिकट, लोड म्यानेजमेन्ट, क्रु ड्युटी लगायतका विषयमा पारदर्शिताको लागी डिजिटल युगमा प्रवेश गरिसक्दा पनि डिजिटलाइज्ड गर्न असुरछ्याको बाहना पेस गरेर नेतृत्व अनिच्छुक भइरहेका छन्।
४. कार्यालयका लागि आवश्यक सामान खरिदबिक्रीका लागि एक विभाग स्थापना गरिएको छ। यी सामानहरूको उपयोगिता नसकिँदै फेरबदल गरिन्छ जसले गर्दा समग्रमा संस्थाको खर्चमा भारी मात्रामा बृद्दी हुन पुग्छ। हालसालै मात्र आवश्यक नै नपरेको गाडीहरू खरिद गरियो जसबाट ठूलो मात्रामा निगमको धन खेर गएको छ !
५. बजारमा आफ्नो टिकट बेच्नको लागि अग्रसर हुने हो भने बिग्यापन गर्नुपर्दछ। तर बिग्यापन बितरणमा पारदर्शिता छैन। बिग्यापन यात्रु लक्षित नहुनु ६१ औँ वर्षमा यात्रारत निगमको लागि अरू थप घाटाको स्थिति देखाउँदै निजीकरण गर्नु भित्री नियत रहेको प्रष्ट हुन्छ।
६. इन्जिनियरिङ विभाग अन्तर्गत बेलैमा उडान गर्न समयसापेक्ष पार्ट्पुर्जाको जरुरी हुन्छ। अत्यन्त आवश्यक पार्टपुर्जाको अभावमा उडान रद्द हुने स्थितिसम्म पनि सामानको जोहो नगरिनु भनेको सरासर निगम विरोधी क्रियाकलाप हो। अन्तिम समयमा त्यस्तो सामान खरिद गर्दा टेन्डर आव्हान गर्न नपर्ने र अतिरिक्त कमाइ प्रशस्त मात्रामा प्राप्त हुने लोभ यस विभाग वरिपरि फन्को मारिरहेको हुन्छ। कुनै बेला ट्विन अटर विमानका पार्टपुर्जा नेपालमै जडान गर्ने गरी दक्ष जनशक्ति तयार भएको पनि थियो। जहाजमा प्रयोग गरिने नाइट्रोजन ग्यासको बिक्रेता निगम स्वयम् थियो तर आज एउटा ट्विन अटर विमान मर्मत गर्न नसकेको वर्षौ भइसक्यो। यस अलावा कमसल सामान ल्याएर पुनः केही दिनमै समस्या निम्त्याउने प्रपञ्च पनि यसै विभागबाट हुने गरेको छ।
७. अप्रेसन विभाग अन्तर्गत पनि यस्तै चरम लापरबाही हुने गर्छ। यस अन्तर्गत निजी विमानका मालिकसँग उठबस गर्न रुचाउने एक थरी क्रु र अप्रेसन इन्जिनियरहरू छन् भने अर्को थरी निगमको साखलाई जसरी पनि माथि उठाउनुपर्छ भनेर अवसर पाउँदा दिनरात खट्नेहरु पनि छन्। निगमले न्यारो बढी र वाइड बढी ल्याउँदा यसको भरपुर तयारी गरी उडानमा क्रियाशील हुने स्वाभिमानी, बौद्धिक पाइलट यसै अन्तर्गत रहेका छन्। यसभित्र जहाजले अधिकतम बोक्न सक्ने लोड भन्दा धेरै बोकेर, होटेल बुकिङबाट अतिरिक्त पैसा कमाइ आलिसान महल खडा गर्ने, सुन तस्करी, डलर ओसारपसार गर्ने कर्मचारी पनि छन्। यसरी अतिरिक्त कमाइ गर्नेहरूलाई तलब थोरै भएपनी कुनै गुनासो नरहेको सार्वजनिक मिडियाबाट स्पष्ट बोल्दछन्। जनताले तिनको धन्दा स्पष्टसँग बुझ्नुपर्छ र सामाजिक बहिष्कार गर्नुपर्दछ। यिनै केही उच्छृंखल तत्त्वहरू आफ्ना काला कर्तुत जोगाइराख्न राजनीतिक नेता निकटकालाई आफ्नै पकेट वा विभिन्न माध्यमबाट हवाई टिकट व्यवस्थापन गर्ने गर्छन्, विदेशी रक्सी बोकेर घरदैलो पुग्ने गर्छन्। के यस्ता गतिविधिले निगम उर्जावान हुन सक्ला ?
८. निगम नेतृत्वले आफ्नो भेगिय सम्बन्ध भएका व्यक्तिलाई लोकसेवा आयोगले प्रकाशित गरेको योग्यताक्रमलाई लत्त्याएर एयरबसमा प्रमोसन गर्दा चिनियाँ वाइ १२ जहाजको अधिकतम उपयोग हुन सकेन। समस्या सतहमा आइसकेपछि पनि नेतृत्व तह आफूले गरेको निर्णय नसच्याएर सामान्य कर्मचारीसँग निरन्तर सिङगौरी खेली बस्न उद्धत हुन्छन्। के नेतृत्व भनेको साझा होइन ? नेतृत्वलाई यसरी सिङगौरी खेल्दै बस्दा उसको शोभा वृद्धि हुन्छ ?
९. हालै मात्र कर्मठ नेपाली पाइलटहरूले विदेशी पाइलट हटाएर स्वदेशी पाइलटलाई प्रवर्धन गर्न र दुई महिनासम्म एक रुपियाँ पनि तलब नदिएको सन्दर्भमा कर सम्बन्धी यथेष्ट जानकारी उपलब्ध गराऊ भनेर सचेतना पत्र बुझाउँदा त्यसलाई अतिरिक्त कमाइमा लिप्त भएका अति महत्वकांक्षी नेतृत्वले विषय तोडमोड गरी भ्रमण वर्ष २०२० असफल पार्न खोजेको आरोप लगायो।
१०. कर्मठ नेपाली पाइलटलाई हतोत्साहित बनाउँदै राजीनामा दिन बाध्य बनाउने र निजी विमानका पाइलट र विदेशी पाइलटलाई करारमा भित्र्याएका छन्। केही पहिले मात्र निगमका दुई जना अनुभवी एयरबस पाइलट निजी विमानतर्फ गए भने निजी विमानले बेलाबखत सञ्चालन गर्ने परीक्षामा अनुत्तीर्ण भएर र निजी विमानमा खेप्नु पर्ने पेलान सहन गर्न नसकेर निगम प्रवेश गरेका छन्। करारमा ल्याइएका विदेशी पाइलट त्यो बेला आवश्यक थियो जुन बेला निगमले भर्खर एयरबस ल्याएको थियो र बोइङ्ग जहाजका कतिपय वरिष्ठ क्याप्टेनहरू एयरबसको तालिममा असफल हुनुभएको थियो। यसरी आएका विदेशी पाइलटले तलबको सन्दर्भमा नेपाली पाइलटको तुलनामा तीन गुणा तलब खाइरहेका छन् भने कामको सन्दर्भमा केवल आधा मात्रामा मात्र गरिरहेका छन्। तर, निगमका निर्देशक तहका नेतृत्व विदेशी पाइलटलाई राखिराख्दा आफूलाई प्राप्त हुने अतिरिक्त कमाइ र मिहेनती नेपाली पाइलटलाई हतोत्साहित गर्न उद्धत रहेका छन्। नेपाली ध्वजा वाहक विमान विदेशीले उडाउँदा यात्रुलाई अझ धेरै सुरक्षित उडान उपलब्ध गराउन सकिन्छ भन्ने हास्यास्पद तर्क तिनै निर्देशक तहका नेतृत्वबाट मिडियामा आएको छ।
११. एयरबस ३३० विमान २४ घण्टा मध्ये १८ घण्टा उड्नुपर्ने थियो तर जम्मा १० घण्टा मात्र उडान भरेको पाइन्छ। साथै, एयरबस ३२० दैनिक १६ घण्टा उड्नुपर्नेमा जम्मा ८ घण्टा मात्र उडिरहेका छन्। नारिता उडान गर्नुपर्ने विमान उक्त स्थानमा उडान नगर्ने ब्यहोराको पत्र पठाइ ओसाकातर्फ उडान गरियो। यसरी घाटाको व्यापार कसको हितको लागि गरिन्छ ? प्रष्ट बुझ्न सकिन्छ।
१२. निगमका कर्मचारीले दुई अवस्थामा निगम छोडेर पलायन भएको देखिन्छ। पहिलो, छलछाम र अकुत सम्पत्ति कमाउने भएर अत्यन्त दोहन पश्चात् निजी व्यवसाय सुरु गर्नको लागि छोड्छन्। अर्का थरी जसले इमानदारीपूर्वक काम गर्दागर्दै नेतृत्व तहले हतोत्सायी गर्नाले छोड्न विवश हुने गर्छन्।
यी सबै गलत क्रियाकलापहरू विभागीय निर्देशक र निगमको मुख्य नेतृत्वको मिलिभगतमा हुने गरेको छ। धेरैजसो टेन्डरहरू बाह्य निजी विमानलाई फाइदा पुग्ने गरी जारी गरिन्छ। आडभरोसा नपाइ विभागीय नेतृत्वले चरम भ्रष्टाचार गर्दैन। अन्य कर्मचारी त केवल घरको चुलो बाल्न चुपचाप अर्हाए खटाएको काम गर्छन्। सत्तरी प्रतिशत कर्मचारीको लागि दिइन्छ तर काम दिइँदैन।
समाधान
कुनै पनि अप्रेसनको लागि इन्टर्नसिप डाक्टर भन्दा पनि अनुभवी डाक्टरले मात्र नेपाल वायुसेवा निगमको क्यान्सर रूपी अहिलेको अवस्थालाई उपचार गर्न सक्छन्। अन्यथा, रिटायर्ड लाइफ व्यथित गर्दै गर्दा दुई चार दिन धाउँदै गर्दा, निजी व्यवसायीको पहलमा, नाफामा पाएको कुर्सीमा बसेर निगमलाई धारासायी बनाउन हिजोको जस्तै नेतृत्व ल्याइदा निगमलाई फेरि निरीह बनाउने छन्।
नेपाल वायुसेवा निगमलाई बुद्धिजीवी, दुरदृष्टि, निर्णय निर्माता, नवीन, क्यारिज्म्याटिक, नेतृत्व, सञ्चार, ध्यान, जोस, अनुकूलन योग्यता, अनुशासन, हक्की, निडर र उद्यमी प्रकृतिको महानिर्देशक आवश्यक भएको छ।
निगमअन्तर्गत एयरबस आउँदै गर्दा सफल सञ्चालनका लागि योजना तयार गरेर आफ्नो तत्कालीन नेतृत्वलाई सफल बनाउन लागिपर्ने यी प्रशम्सनिय गुण भएका कर्मचारी पनि छन्। पूर्व कर्मचारी मध्ये पनि सबै घरमा घाम तापेर बसेका छैनन्। कोही पूर्व कर्मचारी संयुक्त राष्ट्रसङ्घ अन्तर्गत फ्लाइट अप्रेसनमा पनि काम गरिरहेका छन्। यस प्रकारको जनशक्ति नेपाल सरकारले किन उपयोग नगर्ने ? नेतृत्वको कार्यकाल समाप्तिपछि पनि निगमसँग अटुट सम्बन्ध हुने गरी अनुबन्धित भइरहने व्यक्तिलाई महाप्रबन्धकको जिम्मेवारी दिँदा उचित देखिन्छ।
इथोपियन एयरलाइन्स पनि कुनै बेला निगमजस्तै धारासायी बनेको अवस्थामा थियो तर जब कार्यकारी प्रमूखमा सोही वायुसेवा संस्थानको बुद्धिजीवी क्याप्टेनलाई नियुक्त गरियो तब मात्र इथोपियन एयरलाइन्सले प्रगति गरेको देखिन्छ। उनले देशमा महामारी, विपद् , व्यवस्था परिवर्तन भएतापनी संस्थालाई जहिल्यै पनि निरन्तर प्रगतितर्फ डोर्याइरहे। केवल उडान मात्र होइन इथोपियन वायुसेवाले समेत निर्माण गरेको छ। यति मात्रै होइन मर्मत सम्भार, होटेल, क्याटरिङ्ग सबै आफैले सेवा दिने गरेको छ तर हाम्रो नेपाल वायुसेवा निगमले हाल आएर केही उडान बाहेक ग्राउन्ड ह्यान्डलिङ्ग मात्रै सञ्चालन गरिबसेको छ। नेपाल वायुसेवा निगम स्वमयले लुक्ला अन्य कयौँ सञ्चालनमा ल्याएको हो केवल जनताको सेवाको लागि।
महाप्रबन्धक बाहेक बोर्ड सदस्यहरू पनि क्रियाशील र प्रभावकारी हुनु आवश्यक छ। इथोपियन एयरलाइन्सको बोर्ड सदस्य सबै विभिन्न विभागीय मन्त्रीहरू रहेका छन्। हाम्रोमा त्यसो गर्न सकिँदैन भने पनि विशेषज्ञ नियुक्त गरेर जबाफदेहिताको वातावरण निर्माण गर्न सक्नुपर्छ।
यस प्रकारको नेतृत्वको समान सहभागिताको प्रबन्ध गरी कडाइका साथ निगमका सबै विभाग र सो विभाग सम्बन्धी काममा प्रत्यक्ष जानकारी राख्दै, विषय काम गराइ निगमलाई दिन दुई गुना, रात चौगुना प्रगतितर्फ उन्मुख गराउन सक्ने हुनुपर्छ। साथै, नेतृत्वले प्रत्येक एक नेपाली जनतालाई निगमको पारदर्शिता प्रदर्शन गर्न सक्ने हुनुपर्छ। यिनै गुणहरूले नेतृत्व गर्दा नेवानीले बजारमा स्वस्थ प्रतिस्पर्धा गर्दै राष्ट्रिय ढुकुटी निर्माणमा बृहत् योगदान दिन सक्नेछ। तत्पश्चात् मात्रै व्यवहारिक रूपमै आर्थिक क्रान्ति सम्भव हुनेछ। नेपालको सम्बिधानले दिशानिर्देश गरेको समाजबादको लछ्यमा पुग्न नेपाल बायुसेवा निगमले महत्वपुर्ण भुमिका खेल्न सक्नेछ !
(मुल स्रोत : लोकपाटी डट कम )
FACEBOOK COMMENTS