काठमाडौं । गत कात्तिक महिनामा सुनको मूल्य प्रतितोला करिब चार हजार रुपैयाँले महङ्गिएको छ ।
कात्तिक १ गते प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन महिनाको अन्तिम कारोबार दिन २७ गते पनि १ लाख १३ हजार २०० रुपैयाँमै कारोबार भयो । तर, कात्तिक ११ र १२ गते महिनाकै उच्च दर १ लाख १७ हजार रुपैयाँमा कारोबार हुँदा छापावाल सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले महङ्गो भएको हो ।
त्यसपछि क्रमश: घट्दै गएको सुनको मूल्य महिनाको अन्तिम कारोबार दिन पनि १ लाख १३ हजार २०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार कात्तिकमा तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ८०० रुपैयाँले महङ्गिएको छ । महिनाको सुरुवाती कारोबार दिन १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य महिनाको अन्तिम कारोबार दिन पनि सोही मूल्यमा रोकियो । तर, कात्तिक ११ र १२ गते १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले महङ्गिएको छ ।
दसैं तथा तिहारलगायत महत्वपूर्ण चाडवाडका कारण औसत कारोबार भएको सुन तथा चाँदीको मूल्य चालू महिनामा अझ बढ्न सक्ने अनुमान गरिएको छ । मंसिरदेखि विवाहको लगन पुन: सुरू हुने भएकाले यो महिना सुनको खपत बढ्नाका साथै मूल्य पनि बढ्ने अनुमान गरिएको हो ।
यो वर्षको मंसिर महिनामा १२, १३, १८, २१, २३, २८, २९ र ३० गते विवाहको शुभ लगन परेको छ । त्यसपछि माघमा ६ दिन तथा फागुनमा ५ दिन विवाहको लगन परेको छ ।
मंसिरको सुरूमै बढ्यो २ हजार ३०० रुपैयाँ
मंसिर १ गते अर्थात् हिजो शुक्रबार एकै दिन सुनको मूल्यमा २ हजार ३०० रुपैयाँले वृद्धि भएको छ । गत कात्तिक २७ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ कायम भएको थियो । तिहारपछि हिजो शुक्रबार बजार खुल्ला हुँदा सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेको छ । गत कात्तिक २७ गते चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार ४५० रुपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS