काठमाडौं । जलविद्युत् आयोजनाका उद्यममीहरूले पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेवोन) नेपालको खुला बजार नीतिविपरीत जान खोजेको भन्दै आपत्ति जनाएका छन् ।
जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोक्ने तयारी धितोपत्र बोर्डले गरेपछि ऊर्जा उद्यमीहरूले यसरी आपत्ति जनाउन थालेका हुन् । यस सन्दर्भमा उनीहरूले सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन् ।
बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेका कारण ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री कार्यलयदेखि अर्थमन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भइ धेरै कम्पनीहरुको धितोपत्र निष्कासन गरेकोमा त्यसको सरहाना गरे पनि पछिल्लो समय आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि बोर्ड खुला बजार नीतिविपरीत जान खोजेको आरोप उनीहरूको छ ।
कुनै कम्पनीबाट ऐन नियमविपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरीवेक्षण तथा छानबिन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीहरुले असन्तुष्टि जनाउन थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडा बताउँछन् । केही कम्पनीका संस्थापकहरुले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरेमा ऊर्जा क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ ।
धितोपत्र बोर्डबाट विगतमा सहज रुपमा सेयर निष्कासन भइरहेको र हाइड्रोपावर कम्पनीहरुले सहज रुपमा निष्कासन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीहरु निष्कानका लागि निवेदन दिन थालेका थिए । तर, हाल सेयरको आपूर्ति बढी भएको भन्ने बहानामा सार्वजनिक तथा हकप्रद निष्कासनमा ढिलाई गरेकामा उद्यमीहरुको आपत्ति छ ।
पुँजी बजारमा आउने सबै कम्पनीहरुलाई समान रुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने पनि ऊर्जा उद्यमीहरुको माग रहेको छ ।
FACEBOOK COMMENTS