काठमाडौं । नेपाल लघुवित्त सञ्चालक संघका अध्यक्ष जगतबहादुर पोखरेलले दुर्गा प्रसाईंहरूले सडकबाट जति कराए पनि अहिलेको अवस्थामा कुनै पनि प्रकारका ऋण मिनाहा गर्न सकिने अवस्था नरहेको बताएका छन् ।
लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूलाई ऋण तिर्न तनाव दिएको भन्दै ऋणीहरू सडक आन्दोलनमा उत्रिरहेका बेला अध्यक्ष पोखरेलले भने कुनै पनि हालतमा वित्तीय संस्थाका ऋणहरू मिनाहा हुने अवस्था नरहेको बताएका हुन् ।
तर, विभिन्न बैंक तथा फाइनान्स कम्पनीहरूबाट करिब ६ अर्ब रुपैयाँ ऋण लिएका र उक्त ऋण तिर्दिन र अरुले पनि तिर्न पर्दैन भन्दै झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सडक आन्दोलनको नेतृत्व गरिरहेका छन् । सो आन्दोलन दिनप्रतिदिन चर्किने क्रममा छ ।
सडक आन्दोलन चर्किने र विभिन्न ठाउँमा मुठभेड समेत हुन थालेको परिस्थितिमा समेत संघका अध्यक्ष पोखरेलले भने ऋण मिनाहाको कुनै सम्भावना नरहेको जिकिर गरेका हुन् । आर्थिक अनुसाशन पालना गर्ने सन्दर्भमा ऋण मिनाको प्रसङ्ग नै नआउने उनको भनाइ छ । यद्यपि, ऋणीहरूले सरकारसँग पहल गरेर सरकारलाई सहमत गराएको खण्डमा भने केही हदसम्म सम्भावना रहने पनि उनले औंल्याएका छन् ।
‘ऋण मिनाहा सम्भव छैन । हामीले ऋणस्वरुप दिएको पैसा जनताको हो । उहाँहरूले सानो–सानो रकम जम्मा गरेरनै हामी ऋण प्रवाह गर्न सक्ने अवस्थामा पुग्ने हो । त्यसरी जम्मा गरेको पैसा कसैले ऋण लिने र तिर्दिन भन्न बिल्कुल नपाइने र यो आर्थिक अनुसाशनविपरीतको कदम हो,’ पोखरेलले भने, ‘तर उहाँहरूले सरकारसँग पहल गरेर सरकारले नै मिनाहाको निर्णय गर्यो भने थोरै सम्भावना रहन्छ । तर, वर्तमान आर्थिक सङ्कटको अवस्थामा राज्यले पनि यो विषय धान्न सक्ने अवस्थामा पक्कै छैन । त्यसर्थ जसले जति कराए पनि ऋण मिनाहाको अवस्था म देख्दिनँ । बरु थोरै–थोरै गरेर ऋण तिर्नु नै सबैको हितमा हुनेछ ।’
लघुवित्त संस्थाहरूले मुलुकको समृद्धिका साथै महिलाहरूको अवस्था सुधारमा मुख्य भूमिका खेलेको चर्चा गर्दै उनले कुनै वित्तीय अपराध गरेको भए सजाय भोग्न आफूहरू कुनै पनि बेला तयार रहेको समेत स्पष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा चलेका लघुवित्त संस्थाहरूलाई व्यक्तिगत स्वार्थका लागि अनेक लाञ्छना लगाउनु उचित नभएको भनाइ उनको छ ।
यदि राज्यले ऋण मिनाहाको निर्णय गर्ने हो भने पनि प्रत्येक ऋणीसँग स्पष्टीकरण लिएर ऋण तिर्न नसक्नुका कारण खोज्ने र उचित ठाने मात्रै मिनाहा हुने तर्क उनको छ । पछिल्लो समय एउटै मान्छेले धेरै माइक्रोफाइनान्सबाट पैसा चलाउँदा समस्या उत्पन्न भएको पनि उनले स्पष्ट गरेका छन् ।
FACEBOOK COMMENTS