काठमाडौं । आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरेबमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर १६ दिनसम्म यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि विगत २६ वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस १६ दिन नै मनाइँदै आएको छ । सोही बमोजिम ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजदेखि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सुरू गरिएको हो ।
यसैबीच दुई करोड भन्दा धेरै श्रमिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी संघ यूएनआई ग्लोबल युनियनको नेपाल च्याप्टर यूएनआई नेपाल सम्पर्क परिषद्ले काठमाडौंमा सचेतना र्याली निकालेको छ । भद्रकालीमा भेला भएर विभिन्न प्ले–कार्डहरू र ब्यानरसहित निकालिएको र्याली रत्नपार्कस्थित शान्ति बाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष समेत रहेकी यूएनआई नेपालकी उपाध्यक्ष तथा महिला समितिकी अध्यक्ष भगवती खड्का, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरा, युनिमीका अध्यक्ष गोविन्द धिताल, युएनआई महिला समितिकी सचिव रोजिला कार्की र युएनआईका को–अर्डिनेटर आलोक मल्ल तथा विभिन्न ट्रेड युनियनका नेताहरूले सम्बोधन गरेका थिए ।
उनीहरूले घर, परिवार, समाज र कार्यस्थलमा हुने विभेद र लैङ्गिक हिंसालाई अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट जागरुक बन्नुपर्ने बताएका छन् । समाजमा रहेका सबैखाले हिंसा र विभेदको अन्त्य गर्न अभियानको अबधिमा मात्र नभई वर्षभरि नै कार्यक्रमहरू गर्नुपर्ने धारणा उनीहरूले व्यक्त गरेका छन् ।
र्यालीमा इन्टरनेशनल लेवर अर्गनाइजेशन (आईएलओ) अभिसन्धी १९० पारित गर्नुपर्ने, लैङ्गिक हिंसा अन्त्य गरिनुपर्नेलगायत विभिन्न नारा लगाइएको थियो । सहभागीहरूले विशेषगरी महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।
नेपालमा २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । नेपाली समाजमा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न अझै पनि बाध्य छन् ।
हेरौँ केही तस्वीरहरू–
FACEBOOK COMMENTS