काठमाडौं । आठौँ लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् ।
आज शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर आशिष श्रेष्ठलाई पराजित गर्दै ट्रफी उचालेका हुन् । प्रतिस्पर्धी श्रेष्ठ ४० अंक बनाएर उपविजेता बनेका छन् ।
प्रतिस्पर्धामा टशी दोङले ३९ ग्रोस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जितेका छन् ।
यस्तै, महिलातर्फ ३४ अंकका साथ सुमित्रा खड्का विजेता र ३३ अंकका साथ आरती राना उपविजेता बनेका छन् ।
लक्ष्मी सनराइज बैंकले प्रायोजन गरेको प्रतियोगिता स्टेबलफोर्ड फर्म्याट ३/४ ह्याण्डिक्यापमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा सात जना महिलासहित ९६ जना गल्फरले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेता र उपविजेताहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार तथा अवार्ड वितरण गरे ।
FACEBOOK COMMENTS