काठमाडौँ । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज सोमबार बिहानदेखि सञ्चालनमा आएको हो ।
उक्त लाइट अटोमेटिक बनाइएको छ भने चार जना ट्राफिक र चार जना महानगर प्रहरी बसी सर्वसाधरणलाई सहयोग गरिरहेका छन् । आजै यसबारे सबैलाई थाहा नहुन सक्ने भएकाले अटोमेटिक बनाएको एक प्रहरी अधिकारीले बताए ।
हिजाे मात्र ट्राफिक लाइट राखिएकाले पनि होला बाटो क्रस गर्ने लाइट नदेख्दा जथाभावी बाटो क्रस गरेका छन् । यो हेर्दा लाग्छ सबै मानिस ट्राफिक लाइटमा भिजेका छैनन् । अर्कोतर्फ पछिल्लो समय काठमाडौंका धेरैजसो चोकहरूमा ट्राफिक लाइट राखिएका छन् तर ती सबैले राम्रोसँग काम गर्न सकिरहेको पाइँदैन । ट्राफिक लाइट नबल्दा लाइट जडान गरिकै चोकहरूको अवस्था अस्तव्यस्त देखिने गरेको छ । त्यसलाई हेर्ने हो भने पेलिकन लाइट सिस्टम पनि केही दिनमा त्यस्तै नहोला बन्न सकिन्न ।
हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँको लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो । अब यो प्रविधि कत्तिको प्रभावकारी हुन्छ भन्ने हेर्न बाँकी छ । काठमाडौं महानगरले काठमाडौंका विभिन्न ३६ वटा विद्यालयअगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी समेत गरेको छ ।
FACEBOOK COMMENTS