उद्योग व्यवसायको स्थापना र प्रवर्द्धन तथा रोजगारी सृजना गर्न नसकिरहेको नेपाल पछिल्लो समय आर्थिक मन्दीको चरम अवस्थाबाट गुज्रिन थालेको छ । आर्थिक मन्दीका कारण बजारमा लगानीयोग्य पुँजी अभाव हुनाका साथै भएका पुँजी पनि परिचालन हुन छोडेको छ । यसबाट नेपाली अर्थतन्त्र थप सङ्कटोन्मुख छ ।
यस्तो परिस्थितिमा रोजगारीको खोजी गर्दै विदेश जाने नेपाली युवा जनशक्तिको लावालस्कर त विमानस्थलमा बढ्नेनै भयो । आफ्नै बलबुताले धेरथोर रोजगारी सृजना गरिरहेका कतिपय उद्योगी–व्यवसायीहरू समेत विदेश पलायन हुने क्रम बढ्दो छ । यसले मुलुकमा थप आर्थिक सङ्कट निम्त्याउने खतरा पैदा भइरहेको देखिन्छ । यसरी देशभरिकै अर्थतन्त्रमा विकराल अवस्था सृजना भइरहँदा कास्कीको पर्यटकीय नगरी पोखरामा रहेका उद्योगी तथा व्यवसायीहरू के गरिरहेका छन् ? कस्तो छ उनीहरूको अवस्था ? विद्यमान आसर्थक जटिलता हटाउन के गर्न पर्ला ? यी र यस्ता विषयहरूमा केन्द्रित रहेर पोखराका समग्र उद्योगी व्यवसायीहरूको प्रतिनिधिमुलक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिसँग हामीले विस्तृत कुराकानी गरेका छौँ ।
प्रस्तुत छ, अध्यक्ष प्रजापतिसँग कर्पोरेट खबरका साइराम उपरकोटीले गरेको सो कुराकानीको सम्पादित अंश–
मुलुक आर्थिक मन्दीको कष्टपूर्ण अवस्थाबाट गुजिरहेको अवस्थामा पोखराका उद्योगहरूको अवस्था कस्तो छ ?
पोखराका अधिकांश उद्योहरू बन्द भइसकेका छन् । कतिपय बन्द हुने अवस्थामा छन् भने अन्य जेनतेन रूपमा चलिरहेका छन् । जेनतेन चलेकालाई राज्यले थप संरक्षण गरेर चलाउनुपर्ने आवश्यकता बढ्दै गएको छ ।
विश्वव्यापी कोभिड–१९ ले समेत हल्लाउन नसकेको हाम्रो अर्थतन्त्र अहिले कसरी समस्याग्रस्त बन्यो ?
कोभिड–१९ भन्दा पहिला पोखरामा सबैमा केही न केही नयाँ उद्योगहरू सञ्चालन गरौँ भन्ने सोच थियो । जसले गर्दा सोही अुसारको लगानी पनि गर्ने गर्दथे । तर, कोरोनापश्चात् चाहिँ सायद सरकाले नीति ल्याउन नसकेर पनि होला प्राय: सबै विदेसिन थालेका छन् । पोखरामा लगानीमैत्री वातावरण पर्याप्त छैन । उद्योगमैत्री वातावरणको कमी छ । यदि यो अवस्था सुधार गर्ने हो भने निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्नु जरुरी छ । कोरोनापछि उद्योग व्यवसाय बढ्छ भन्ने आशा हामीलाई थियो तर त्यस्तो भएन झन्–झन् सिथिल भएर गयो । बैंकको व्याजहरू डबल डिजिटको भएर आएका छन् । त्यसकारण लागत बढ्दै गयो तर, खपत कम हुन थालेपनि अहिलेको अवस्था देखिएको भन्न सकिन्छ ।
तर, यो मात्रै कारण होइन । यसमा राज्यले गर्नुपर्ने कर्तव्य पूरा नगरेका कारण सबैभन्दा ठूलो समस्या सृजना भएको हामीले देखेका छौँ । अहिले देखिएको आर्थिक समस्याको पहिलो मार हामी उद्यागी व्यवसायीले नै खाइरहेका छौँ । सर्वसाधारण त पीडित नहुने कुरै भएन । पछिल्लो समय नेपालका नीति नियमहरू व्यावसायीहरूलाई अझ बढी समस्यामा पार्ने खालका बनेका छन् । त्यसैले गर्दा होला अहिले पनि तपाइँले पोखराका बजार सरसरती घुम्नुभयो भने अधिकांश सटर र पसलहरू बिक्रीमा रहेको पाउन सक्नुहुन्छ । यसले नेपालको अर्थतन्त्र अझै थप सङ्कटमा जाँदैछ भन्ने सन्देश दिइरहेको छ । तर, सरकारले योजनाबद्ध काम गर्न अझै आलटाल गरिरहेको छ, यो अर्को ठूलो दुखद पक्ष हो ।
अब सटरहरू खुल्ला गर्न अथवा पोखराको यद्योग व्यावसायहरूलाई पहिलेकै लयमा फर्काउन के–के गर्न पर्ला ?
सर्वप्रथम सरकारले उचित नीतिनियम बनाउनुपर्यो । बैंकले सहज रूपमा ऋण उपलब्ध गराउनुपर्यो । भन्सार दर एकदमै न्युनीकरण गरेर लैजानुपर्छ । शीपमुलक कार्यक्रमहरूको आयोजना गर्दै लैजानु पर्छ । समग्रमा उद्योग र व्यवसायीमैत्री नीति बन्ने हो भने विदेश पलायन हुने तयारीमा रहेका केही व्यवसायी र उद्योगी रोकिन सक्ने अवस्था रहन्छ । उद्योगहरू स्थापपना गरेर रोजगारी सृजना गर्ने तथा वस्तु तथा सेवा उत्पादन गरेर उपभोग र निर्यातसम्मको योजना नबन्दासम्म अवस्था सुधार हुने छाँट छैन । किनभने हामी हदभन्दा तल पुगेर परनिर्भर बनिरहेका छौँ ।
पोखरा त पर्यटीकय नगरी पनि हो । यहाँको अर्थतन्त्र त पर्यटनले नै चलायमान भइरहेको देखिन्छ । खासको यो नगरीको असली अवस्थाचाहिँ कस्तो छ ?
पोखरा पर्यटकीय क्षेत्र हो भन्ने कुरा सबैलाई थाहा छ । तर, पर्यटकको आवागमन न्यून रहँदा बजार चाहेजति चलायमान बन्न सकिरहेको छैन । पोखरामा जति धेरै पर्यटक भित्रिन्छन् त्यसै अनुसार व्यापार हुने हो । त्यसकारण हामी पर्यटन भित्र्याउन लागि परेका छौँ । जसमा सरकारको महत्वपूर्ण भूमिका रहेको छ । सरकाले उद्यमसँग सम्बन्धित नीतिनियम ल्याएर सहयोग गर्न जरुरी देखिन्छ । भारतीय पर्यटकको बारेमा पनि सोच्न जरुरी छ । उहाँहरू आउँदा १०० को नोट मात्र ल्याउन भनिएको छ यसले गर्दा धेरै पैसाको गड्डी ल्याउनु पर्ने हुन्छ । त्यसलाई नीतिनियम बनाएर सहज बनाउनु पर्ने देखिन्छ । यदि यो अवस्था सहज बनाउन सकिए भारतीय पर्यटकको आवागमन बढ्छ । तर, भारतबाट १० प्रतिशत मात्रै पर्यटक आए भने पनि हामीले धान्न सक्दैनौँ । हामीले लगानीमैत्री अवस्था नरहेका कारण उनीहरूलाई धान्न सक्नेगरी पूर्वाधार निर्माण गर्न सकिरहेका छैनौँ ।
पोखराका होटेलहरू २४ सै घण्टा खुल्दाका फाइदा र बेफाइदाहरू के–के देखिएका छन् ?
हरेक कुराको राम्रो र नराम्रो पाटो हुनु स्वाभाविक कुरा हो । त्यसकारण पोखराका होटेलहरू २४ सै घण्टा खुल्ला रहने तर पर्यटकको अभाव भयो भने खास अर्थ रहँदैन । त्यसका लागि सोही अनुसारको पूर्वधारहरूको पनि विकास हुन जरुरी छ । नेपाल सरकारले पर्यटक भित्र्याउने वातावरण र प्रभावकारी रणनीति बनाउन जरुरी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ, तर जहाज उड्न नसक्दा पर्यटकको कमी भएको देखिन्छ । दिनमा १० वटा अन्तर्राष्ट्रिय विमान यहाँ (पोखरामा) ल्याण्ड भए पर्यटकको आगमन बढ्ने थियो । अब रातिमा होटेल खोलेर मात्र हुँदैन किनभने सडकको अवस्था पनि नाजुक छ । रातिमा होटेल खोलेर पर्यटक नै आएनन भने चल्न सक्दैन । यस्तै, विमानस्थलको उडान पनि कम छ यसले गर्दा पर्यटक घटेका छन् । जति सक्दो छिटो यी दुवैको समस्या समाधान गर्ने हो भने पर्यटको संख्या बढ्ने थियो ।
यसलाई कसरी व्यावस्थित बनाएर लैजान सकिएला त ?
सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा दिन सक्नु हो । यदि पर्यटनहरूलाई सुरक्षित अनुभव गराउन सकिएन भने त्यसको कुनै महत्व रहँदैन । अब विस्तारै सोही अनुसारको प्रविधिहरू बनाउँदै लैजान सकिन्छ । त्यस्तै उद्योग व्यावसायलाई जति सक्दो चाँडो चलायमान बनाउन जरुरी छ । यदि वास्ता नै नगरी बस्ने हो भने देशको आर्थिक अवस्था थप नाजुक भएर जान सक्छ ।
सरकारले व्यवसायीलाई के गर्नपर्छ ?
व्यवसायीलाई कसरी सहज रूपमा व्यवसाय गर्न दिने भन्ने नीतिनियम लिए व्यवसायीले देश बनाउन सक्छ । अब सधैंभरि भएन बिग्रियो बिग्रयो भन्ने मात्र होइन । यसलाई बनाउनेतिर लाग्नुपर्छ । स्कुल कलेजमा विद्यार्थी पाउन नै छोडिसकेको छ । विदेश जानेबाहेक केही उपाय नदेख्ने अवस्थामा उद्योगी–व्यवसायी र नेपाली युवाहरू पुगेका छन् । नेपालमा पैसा जोगाउनै नसक्ने र विदेश गए केही पैसा जोगाउन सकिन्छ भन्ने बुझाई युवाहरूमा छ ।
अहिले उद्योगी तथा व्यवसायीहरूको काम भनेको बैंकको चर्को व्याजदरको भार बोकिदिने, कुनै प्रभावकारी सुविधाबिनै सरकारलाई कर तिरेर कर्मचारी पालिदिनपर्ने जस्तो मात्रै भएको छ । उद्योग व्यवसाय सञ्चालन गरेर खुसी भएको मानिस भेट्टाउनै मुश्किल पर्न थालिसक्यो । राज्यलाई कुनै मतलव छैन । यस्तो सङ्कटको बेलामा समेत सरकार मौन रहनु हाम्रो बिडम्बना नै हो भन्छु म त । विद्यमान अवस्था जारी रहने हो भने व्यवसायी विदेश पलायन हुन्छन् र देशको विकासमा थप समस्या सृजना हुन्छ । तसर्थ राज्यले जतिसक्दो छिटो उद्योगमैत्री नीति ल्याएर व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्न जरुरी छ ।
पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला पनि आयोजना गर्दैछ । मेलाबारे के भन्नुहुन्छ ?
पोखरा उद्योग वाणिज्य संघले ३२औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला यही मंसिर २१ गतेदेखि पुस १ गतेसम्म सञ्चालन गर्दैछ । हामीले गण्डकी प्रदेशभरिका उद्योगीहरूको उत्पादनहरू एकै थलोमा राखेर प्रदर्शन गर्ने योजना बनाएका छौँ । मेलालाई भव्य र सभ्य रूपमा सफल पारिदिनुहुन सबैमा अनुरोध गर्दछु । मुलुकको जटिल परिस्थितिलाई सुधार गर्न पनि तपाइँ–हामी सबैले यो मेलालाई सफल पार्नुपर्छ । त्यसैले मेलामा सबैको उल्लेख्य सहभागिताको अपेक्षा गर्दछु ।
FACEBOOK COMMENTS