काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाहरूले गरेको पुनरावेदनमाथि आज उच्च अदालत पाटनले थप फैसला गरेको छ ।
फैसला अनुसार नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई अझै थुनामा राख्न आदेश दिएको छ भने अन्य केहीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
आदेश अनुसार टेकनारायण पाण्डे, डा. ईन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पालाई थुनामै राख्न भनिएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले गत असार १ गते गरेको आदेश मिलेको र परिवर्तन गर्नुपर्ने नदेखिएको उल्लेख छ ।
उनीहरूविरुद्धको घटना विवरण, जाहेरी दरखास्त र प्रतिवादीहरूको एक आपसको पोल बयानलगायतलाई आधार मानेर उच्च अदालतले थुनामै राख्न आदेश गरेको पनि स्पष्ट पारेको छ ।
अदालतले टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र नरेन्द्र केसीसँग १०/१० लाख रुपैयाँ धरौटी मागिएको छ । केसी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव हुन् ।
यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र रामशरण केसीसँग अदालतले जनही १५ लाख रुपैयाँ धरौटी मागेको छ भने लक्ष्मी महर्जन, टंक गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
उनीहरु सबैजना जिल्ला अदालत काठमाडौंको आदेशमा असार १ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीहरुविरुद्ध गत जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
पढ्नुहोस् आदेशको पूर्णपाठ–
FACEBOOK COMMENTS