पोखरा — पोखरामा जारी केपी ओली कप राष्ट्रिय ट्वान्टी –२० कप क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनलमा आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।
१३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सफल भयो।
आर्मीलाई सोमपाल कामीले १६ र विवेक यादव अविजित २५ रनको योगादन दिएपनि जित सम्भव भएन। आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाए।
बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन्। प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। मधेसका विशाल पटेलले ४९ रनको योगदान दिए।
कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रनको योगदान दिए।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३र३, सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए।
उपाधिसँग मधेसले ५ लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
बिहीबार भएको सेमिफाइनलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीले बाग्मती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए।
FACEBOOK COMMENTS