काठमाडौ । काठमाडौं महानगरपालिकाले २३० जनालाई रोजगारी दिने भएको छ । महानगरले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न लागेको छ । त्यसका लागि सुपरिवेक्षक तथा गणक करारमा लिन लागेको हो ।
महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने महानगरले जनाएको छ ।
योग्य व्यक्तिले २१ दिनभित्र काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्नेछ ।
सुपरिवेक्षका लागि आवेदन दिन लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्छ । बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने छ भने मासिक ३४ हजार ७३० रुपैयाँ तलब र इन्टरनेटको मासिक खर्च २ हजार रुपैयाँ रहेको छ ।
गणक पदका लागि तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्छ । यसमा बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने छ । तलब ३२ हजार ९०२ रुपैयाँ हुनेछ भने इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।
FACEBOOK COMMENTS