काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । सोमबार समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि बीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।
पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । समितिले गत ९ साउनमा टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालन अनुमति दिएको हो ।
करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसारसंस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ अर्ब ३० करोड भन्दा बढी आम्दानी गरिरहेको थियो ।
निजी क्षेत्रको व्यवस्थापनबाट अझै राम्रोसँग बन्नदरगाह सञ्चालन हुने उनको विश्वास छ ।
कार्यक्रममा बोल्दै ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिका प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताए । आफूहरुले दिने सेवा स्तरीय बनाउन प्रयास रहने पनि उनको भनाइ छ ।
FACEBOOK COMMENTS