काठमाडौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक कार्यक्रमका बीच कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । बाँडफाँटमा कुल १ लाख १४ हजार ८ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।
प्रक्रिया पूरा गरेर कुल १२ लाख ७४ हजार ५६७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका थिए । भेरिफाइड भएकामध्ये ११ लाख ५९ हजार ७६७ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा मागभन्दा ११ दशमलव ८ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले ८ मंसिरमा सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गरेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गरिएको थियो ।
कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।
FACEBOOK COMMENTS