देश सङ्घीय संरचनामा गएपछि स्थानीय तहका दुई वटा निर्वाचन सम्पन्न भइसकेका छन् । सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने नारासहित गठन भएको स्थानीय सरकारसँग विभिन्न २२ वटा एकल अधिकार छ । संविधानको अनुसूची ५ ले सङ्घ सरकारलाई, अनुसूची ६ ले प्रदेश सरकारलाई र अनुसूची ८ ले स्थानीय सरकारलाई एकल अधिकार दिएको छ । जसअनुसार संविधानको अनुसूची ८ मा स्थानीय सरकारलाई २२ वटा एकल अधिकार प्रत्यायोजन गरेको उल्लेख छ ।
तर, संविधानले दिएको एकल अधिकारको प्रयोग भने स्थानीय सरकारका जनप्रतिनिधिहरूले अलिकति पनि गर्न सकेका छैनन् । भवितव्य घटनामा सरकारको उपस्थिति जनाउने प्रकृतिका काम भए पनि अन्य विकास र निर्माणका कुरामा स्थानीय सरकार धेरै नै अनविज्ञ रहेको पाइन्छन् । अहिले दोस्रो कार्यकालका लागि नवनिर्वाचित जनप्रतिनिधिले आफूलाई प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हो त्यो पनि भएको पाइँदैन । त्यसमाथि पालिकाहरूले वडाका जनप्रतिनिधिलाई त ठेकेदारझैं गरेर राखेको कतिपय उदाहरण देखिन्छन् । पहिले काम गराएर पछि बिल फछ्स्योट गराउनुपर्ने बाध्यता वडाध्यक्षलाई छ । यस्तो अवस्थामा पोखरा महानगरपालिका वडा नं. २ का वडाध्यक्षले के–कसरी काम गरिरहेका छन्, काम गर्दा सहजता वा असहजता के कस्तो छ भनी कर्पोरेट खबरका साइराम उपरकोटीले कुराकानी गरेका छन् । प्रस्तुत छ, पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गसँग हाम्रा प्रतिनिधि उपरकोटीले गरेको कुराकानीको संक्षिप्त अंश–
तपाईंको वडामा तपाईंले के–कस्तो विकासको कामहरू गरिरहनु भएको छ ?
हामीले अहिले हाइवेमा हुने दुर्घटनाहरू न्यूनीकरण गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । ट्राफिक सचेतनाको कामहरू भइरहेको छ । जसको नतिजा पनि अत्यन्तै राम्रो आएको छ । पहिला भन्दा दुर्घटनाको घटनाहरू घट्दै आएको छ । पहिला दैनिक दुर्घटना हुने गर्दथे अहिले त्यो कम भएको छ ।
तपाईं वडा अध्यक्ष भएपछि पहिला र अहिलेमा कस्तो फरक पाउनुभएको छ ?
पहिला र अहिलेमा खासै भिन्नता छैन् । विषेशगरी त हामीले पूर्व वडाध्यक्षले गर्न खोज्नुभएको तर उहाँको कार्यकालमा नभ्याएको कार्यहरूलाई नै पहिलो चरणमा राखेका छौं । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँको कार्यकालमा छुटेका काम हामीले निरन्तरता दिएका छौँ । नीतिनियम अनुसार काम गर्दै आएका छौँ । त्यो भन्दा पनि बढी जनताको हित हुने कामहरू गर्दै जानेछौं । त्यस्तै युवा तथा महिलाहरूका लागि विभिन्न रोजगारका अवसर तथा तालिमहरू दिरहेका छौँ ।
पोखरा माहनगरपालिकाले आफ्ना वडाहरूका लागि के–कस्ता कार्य गरिरहेको छ ?
मेयरज्यूले गर्नुपर्ने कामहरू त गरिरहनु भएको छ । तर, कतिपय कुराहरू भने उहाँले चाहेर पनि गर्न नसक्नु भएको हो कि जस्तो महसुस हुने गरेको छ । जनताले हामीलाई विश्वास गरेर यस पदमा पुर्याउनुभएको छ । त्यसकारण यसको दुरूपयोग गर्न हुँदैन भन्नेमा हामी प्रतिबद्ध छौँ । हामी पोखरा बनाउन आएका हौँ । हामीलाई जनताले पाँच वर्ष काम गर्न पठाउनुभएको हो । दुई वर्ष पुग्न लागि सकेको छ । काम कम भएको छ । काम कारबाही नै अगाडि बढाउने हो ।
पोखराका धार्मिक स्थलहरूको व्यवस्थापनका लागि के–कस्तो पहल भइरहेको छ ?
यहाँका मठमन्दिरहरूको आफैंमा एकदमै ठूलो महत्व छ । जसको अवलोकन र दर्शन गर्न गर्न देश विदेशबाट मानिसहरू आउने गर्नुभएको छ । त्यसकारण यस्ता महत्वपूर्ण धार्मिक स्थलहरूलाई थप राम्रो बनाउनका लागि हाम्रो वडाबाट पनि विभिन्न समयमा आर्थिक रूपमा सहयोग गर्दै आइरहेका छौँ र यसलाई निरन्तरता दिने छौँ । दर्शनार्थीहरूले दान दिने दक्षिणले नै विध्यवासीनी मन्दिर परिवर्तन भएको हो । दर्शनार्थीले दिएको पैसाले नै विकास गरेका हौँ । यहाँ भैरव मन्दिर, भीमसेन मन्दिर जस्ता अरु थुप्रै मन्दिर रहेका छन् । यी सबैको विकास र संरक्षणमा हामी सचेत छौँ । ध्यान दिएका छौँ ।
मन्दिरहरूमा अहिले क्यूआर कोड प्रयोग गरिरहनुभएको पाइयो । यसको उपयोगिता कस्तो छ ?
यस्ता योजनाहरू एकदमै सही सावित भइरहेको छ । मलाई यसरी दान दक्षिणाहरू सङ्कलन गर्दा कुनै पनि खोट लगाउनुपर्छ जस्तो लाग्दैन । उहाँहरूले दान दक्षिणाको सही सदुपयोग नै गर्नु भएको छ भन्नेमा विश्वस्त छु । उहाँहरूका कामले गर्दा नै चन्दाहरू प्राप्त भइरहेका छन् ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
चुनावमा मेरो लागि खटेर काम गर्नुभयो र मतदान गरी जिताउनुभयो । अब पाँच वर्ष म त्यसैगरी खटेर काम गर्ने बाचा दोहोर्याउँछु । सधैं यो वडाको विकासका लागि नै लड्ने छु । मेरो वडालाई डिजिटल बनाउने अभियान लिएर म अघि बढिरहेको छ । बनाएरै छोड्छु ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS