काठमाडौं,फागुन १- भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू. १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।
फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ । संघअनुसार अघिल्लो वर्ष यस समयमा रू १ करोड ५० लाख बराबरको गुलाब आयात भएको थियो ।
व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतबाट ल्याइने गरिन्छ । भारतको नयाँ दिल्ली, कोलकाता र बैंग्लोरबाट गुलाब आयात हुने गरेको छ ।
नेपालमा मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, काभे्र र चितवन जिल्लामा गुलाबको व्यावसायिक खेती हुने गरेको छ । हाल नेपालमा उक्त क्षेत्रका ७०० किसानले १५३ हेक्टर क्षेत्रफलमा यसको व्यावसायिक खेती गर्दै आएका छन् । यो समयमा गुलाबको माग अत्यधिक हुने तर आन्तरिक उत्पादनले मात्र त्यसलाई धान्न नसक्ने संघका अध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन् ।
नेपालमा चिसो मौसममा गुलाबको उत्पादन कम हुने भएकाले पनि आन्तरिक उत्पादनले गुलाबको माग धान्न नसकिने उनले बताए । ‘भ्यालेन्टाइन डेका लागि २५ प्रतिशत मात्र आन्तरिक गुलाब खपत हुने गरेकोमा बाँकी गुलाब आयात गर्नुपर्ने अवस्था छ,’ उनले भने । तर, भ्यालेन्टाइन डेबाहेक अन्य समयमा भने ८० प्रतिशत आन्तरिक गुलाबको खपत हुने गरेको उनले बताए ।
भ्यालेन्टाइन डेका बेला गुलाबको माग सबैभन्दा बढी काठमाडौं उपत्यकामा हुने गरेको छ । काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत माग हुने गरेको अध्यक्ष श्रेष्ठले बताए । त्यसपछि पोखरा, विराटनगर र चितवनलगायत जिल्लामा गुलाबको खपत बढी हुने गरेको छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS